भक्तपुर । सूर्यविनायककी सम्झना खड्का पहिलो पटक मतदान गर्न आतुर छिन् । उमेर १९ वर्ष पुगेकी उनी पहिलो पटक भोट हाल्ने अधिकार पाएकी छिन् ।
'म त पहिलो पटक मतदान गर्न लागेकी हुँ, आफ्नो गाउँको र यो देशको विकास गर्न सक्ने उम्मेदवार रोजेर भोट हाल्छु,' उनले भनिन्, 'मेरो पहिलो मत खेर नजाओस्, झूटा आश्वासन दिने आफन्त नै भए पनि काम गर्न सक्ने राम्रालाई भोट दिन्छु ।'
मतदाता शिक्षाले आफूलाई मतदानमा प्रयोग हुने मतपत्रबारे जानकारी भएको उनी बताउँछिन् ।
कसलाई भोट दिने भनेर परिवारमा छलफल हुने गरेको बताउँदै उनले परिवारका सबै जनाको विचार एउटै नभएकाले एकै उम्मेदवारलाई सबै भोट जाने सम्भावना नभएको बताउँछन्।
सूर्यविनायक–४ दधिकोटकी पूजा न्यौपानेसँग राजनीतिक दलले विगतमा गरेका गतिविधिहरुको अनुभव छ । उनले लामो समयदेखि मुख्य दलका विगतका सरकार हेर्दै आएको बताउँछिन् । अहिलेको चुनावमा देश विकास गर्ने मूल एजेन्डा बोकेको विश्वासिलो दललाई भोट दिने उनी बताउँछिन् । मतदाता सचेत भएकाले राम्रो उम्मेद्वार छान्ने उनी सुनाउँछिन् । 'गाउँमा सडक बन्यो, पुल बन्यो, खानेपानी आयो, खै त हाम्रो खेतमा हाल्ने मल, न असारमा मल पायाैँ, न अब गहुँ छर्ने आलु रोप्ने बेला आयो, ' उनले भनिन्, 'अब जनताको समस्या बुझ्नेलाई भोट दिने हो ।'
भक्तपुर नगरपालिका–१ सल्लाघारीका वसन्त श्रेष्ठले २० वर्षदेखि पार्टी र नेताको गतिविधि नियालिरहेको उल्लेख गर्दै अब कसले विकास ल्याउन सक्ने भन्ने प्रस्ट भएको बताए । '२०४८ सालको निर्वाचनदेखि २०७४ सालसम्मको निर्वाचनलाई हेरेका छौँ, सबै दल र उम्मेदवारलाई राम्ररी चिनेका छौँ,' उनले भने, 'हामीलाई २०७२ सालको भूकम्पमा, हनुमन्तेको बाढीले भक्तपुर र थिमी डुबानमा पारेका बेलामा, कोरोनोका महामारीका बेलामा को नेताले जनतालाई साथ दियो, कुन दलले जनतालाई साथ दियो, भक्तपुरमा कसले विकास ल्यायो हामीले बुझेका छौं ।'
सूर्यविनायक–५ कि ४१ वर्षीया सामाजिक कार्यकर्ता अनिता पाण्डेले महिला, बालबालिकाको अधिकारका लागि लड्न सक्ने नेता आफूले चुन्ने बताइन् । विगतमा जितेका नेताले यो पटक पनि उम्मेद्वार दिएका छन् । 'पाँच वर्षमा उनीहरुको गतिविधि हेरिसकेका छौँँ,' उनी भन्छिन्, 'विगतमा गरेको कामको आधारमा पनि हामीले मतदाता छान्नु पर्छ ।'
चाँगुनारायण नगरपालिका–९ ताथलीकी ३१ वर्षीया रेणुका बस्नेत दल र उम्मेदवार धेरै भएकाले बुझेर मात्रै मतदान गर्ने बताउँछन् । यस पटक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार धेरै भएको उल्लेख गर्दै सबैको एजेन्डा र घोषणापत्रको अध्ययन गरिरहेको र विश्वासिलो एजेन्डा लिएर आउने उम्मेदवार आफ्नो रोजाइमा पर्ने उनले बताइन्।
चाँगुनारायण–७ वागेश्वरीका ७६ वर्षीय रामशरण काफ्लेले ज्येष्ठ नागरिकको समस्या बुझ्नेलाई भोट हाल्ने बताउँछन् । उनले भने, 'हामी बूढाबूढीलाई यसो बिहान–बेलुका साथीभाइ भेटघाट गर्ने मिलन चौतारी, पाटीपौवा बनाइदिने, वृद्ध भत्ता, पेन्सन घरमै ल्याउने व्यवस्था गरिदिने, भजनकीर्तन गर्ने ठाउँ बनाइदिने नेतालाई भोट हाल्न पाए हुन्थ्यो ।'
चाँगुनारायण–६ नगरकोटका सुवास लामा नगरकोटको बाटो बनाउने सङ्कल्प गर्ने, गरिबका लागि शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, युवा बेरोजगारलाई रोजगार दिने, गाउँमै उद्यमी हुने कार्यक्रम ल्याउने, युवालाई व्यवसायमा प्रोत्साहन दिने, निब्र्याजी ऋणको व्यवस्था गर्ने, भ्रष्टाचार गर्दिनँ भनेर सङ्कल्प गर्ने नेतालाई भोट दिने बताए ।
मध्यपुरथिमि नगरपालिका–५ का रामकृष्ण प्रजापति भने, 'कृषि प्रधान देश, मल कारखाना छैन, भक्तपुर जिल्लाभरिका किसानले सधैँ मल अभाव खेप्नु परेको छ, मल कारखाना नेपालमै खोल्न र किसानलाई मलको सहजै व्यवस्था गर्न सक्ने नेता हामीलाई चाहिएको छ ।'