close

काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा

काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा

Trulli
ADVERTISEMENT

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल देशभर बढिरहेको छ । दश सङ्घीय निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पनि उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा जुटिरहेका छन् ।

गत बैसाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका ३२ वडामध्ये नेपाली कांग्रेस १९, नेकपा (एमाले) १२ र नेकपा (एकीकृत समाजवादी) एउटा वडामा विजयी भएका थिए ।

स्थानीय तहको मतपरिणामलाई हेर्दा आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा काठमाडौं क्षेत्र नं १ मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा (एमाले)का किरण पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

उक्त चुनावमा काठमाडौं क्षेत्र नं १ मा महानगरको चार वटा वडा १०, ११, २९ र ३१ समेटिएकामा कांग्रेसले १०, ११, २९ र एमालेले ३१ वडामा जीत हासिल गरेको थियो । उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीबाट रमेशप्रसाद खरेल पनि उम्मेदवार छन् । 

विसं. २०७४ को निर्वाचनमा सो क्षेत्रमा अहिलेका उम्मेदवारद्वय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीच भिडन्त भएको थियो । त्यत्तिबेला मिश्र विवेकशिल साझा पार्टीबाट चुनावी मैदानमा थिए । गत स्थानीय तहको निर्वाचनमा चार वडामा कांग्रेसका वडाध्यक्षहरूले कूल नौ हजार ८९५ मत प्राप्त गरेका थिए भने एमालेका वडाध्यक्षले नौ हजार ५४१ मत पाएको देखिन्छ । वडाध्यक्षले पाएको मतका आधारमा पनि कांग्रेस ६५४ मतले अगाडि छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारले कुनै पनि वडामा नजिते पनि एक हजार ३७६ मत प्राप्त गरेका थिए ।

पुरानै मतपरिणामलाई आधार मान्दा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सिंहलाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थन रहेको छ ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा हालका राप्रपाका उम्मेदवार मिश्रलाई ८१८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएका सिंहले १० हजार ९३६ मत प्राप्त गरेका थिए । 

गत निर्वाचनको नतिजा उल्टाउने दाउमा मिश्र चुनावी मैदानमा उत्रिएका छन् भने नेता सिंह यसपालि पनि आफ्नो जितलाई कायमै राख्ने कसरतमा छन् । एमाले एक्लै सो क्षेत्रमा रहेकाले सत्तागठबन्धनको साथले सहजै जीत हुने कांग्रेसको जिकिर छ । गत स्थानीय तहको चुनावको मतपरिणाम हेर्दा महानगरको क्षेत्र नं १ मा रोचक भिडन्त हुने देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौं क्षेत्र नं १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्रबाट कूल ४५ हजार १८ मतदाताले मत दिनेछन् । तीमध्ये २३ हजार ४४८ महिला र २१ हजार ५७० पुरुष छन्।