काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ मा दुई पूर्वसंचारमन्त्रीबीच प्रतिस्पर्धा हुँदै छ ।
पछिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी नेकपा एमालेका शेरबहादुर तामाङको प्रतिस्पर्धा क्षेत्र परिवर्तन गर्दै १ बाट २ मा आएका नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत अहिले आमने–सामने छन् । यो भिडन्तलाई सिन्धुपाल्चोक मात्र नभएर देशभरबाट चासोका साथ हेरिएको छ ।
यो क्षेत्रमा बलियो पकड बनाएका तामाङ अहिले जितमा ह्याट्रिक गर्ने दाउमा छन् । तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रबाट एमालेका तामाङले २०७० र २०७४ को निर्वाचन जितिसकेका छन् ।
गठबन्धनको राजनीतिले क्षेत्र परिवर्तन गर्न बाध्य बस्नेत अहिले तामाङलाई लगातार तेस्रो जितबाट रोक्ने रणनीति बनाउँदैछन् ।२०७४ सालमा माओवादीको साथमा चुनाव जितेका तामाङ अहिले एक्लै चुनावी मैदानमा छन् ।
बस्नेत भने सत्ता गठबन्धनमा रहेका कांग्रेससँगै माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहितको लोकतान्त्रिक वामगठबन्धनका साझा उम्मेदवार हुन् ।
सधैँ सिन्धुपाल्चोक–१ बाट चुनाव लड्दै आएका बस्नेतले यसपालि पनि त्यही क्षेत्रबाट उम्मेद्वारी दाबी गरेका थिए । तर, क्षेत्र नम्बर १ माओवादी केन्द्रको भागमा परेपछि उनी बाध्य भएर २ नम्बरमा सरेका हुन् । पाँच वर्षअघि क्षेत्र नम्बर १ बाट पूर्वसभामुख अग्निप्रसाद सापकोटा विजयी भएकै कारण माओवादी केन्द्रले त्यो क्षेत्रमा पाएको हो ।
तर, अहिले क्षेत्र नम्बर १ बाट पूर्वसभामुख सापकोटाकै भतिजा माधवप्रसाद सापकोटा चुनावी मैदानमा छन् । सिन्धुपाल्चोक–२ मा अहिलेसम्म कांग्रेसले जित हात पार्न सकेको छैन ।
२०१५ सालको आम चुनावमा दुई तिहाइ बहुमत ल्याउँदासमेत कांग्रेसले यो क्षेत्रमा भने हार व्यहोर्नुपरेको थियो । बस्नेतले यसपटक तामाङलाई रोक्ने सके नयाँ कीर्तिमानको रचना गर्नेछन् ।
हुन त गत निर्वाचन भने कांग्रेसले सिन्धुपाल्चोक–२ राप्रपाका पशुपति शम्सेर राणालाई सघाएको थियो । यो क्षेत्रमा हालसम्म जित्न नसकेको कांग्रेसका लागि यसपटक गठबन्धनको साथ छ । तर, बस्नेतलाई गठबन्धनका दलले इमानदारिताका साथ सघाउँछन् कि सघाउँदैनन् भन्ने प्रश्न पनि महत्वपूर्ण छ ।
यसका साथै कांग्रेस र मओवादीभित्रको विवादले समेत बस्नेतको जीतमा चुनौती थपिएको छ । यता एमालेका तामाङ भने बलियो संगठनको बलमा बस्नेतविरुद्ध चुनाव जित्ने दाबी गर्छन् । तर, उनलाई विगतमा झैँ सहज भने छैन । पाँच वर्षअघि वामगठबन्धनको सहयोगमा जितेका तामाङ यसपटक एक्लै मात्र छैनन्, उनको पार्टीसमेत सग्लो छैन ।
एमालेको विभाजनले उनले पाउने मतमा असर भने गर्नेछ । त्यसैले जितमा ह्याट्रिक गर्ने दाउमा रहेका तामाङलाई एमालेको विभाजन महँगो साबित नहोला भन्न सकिँदैन ।
कांग्रेस नेता बस्नेत २०४८ कै आमनिर्वाचनदेखि नै सिन्धुपाल्चोक–१ मा चुनाव लड्दै आएका छन् । पाँचौँ प्रतिस्पर्धासम्म आउँदा कहिले उनी सफल भएका छन् त कहिले असफल पनि बनेका छन् ।
प्रायजसोएउटा चुनाव जित्दा अर्को पटक उनी हार्ने गरेका छन् । यद्यपि उनले २०५६ सालमा मात्रै पहिलो जित हात पारेका थिए । यता सिन्धुपाल्चोक–२ बाट चुनाव लड्दै आएका तामाङ पनि चुनावी अखाडामा २ पटक असफल बनेका छन् भने २ पटक सफलता चुमेका छन् ।
सिन्धुपाल्चोक–२ अन्तर्गत चार वटा स्थानीय तहको पूरा भूभाग र एउटा स्थानीय तहको केही वडा पर्छन् । यस क्षेत्रमा पाँच पोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिकाका सम्पूर्ण भूभाग तथा चौतारा साँगाचोकगढी नगरपालिकाको १, ५, ६, ७, ८, ११, १२, १३ र १४ नम्बर वडा समावेश छन् ।