close

चुनावी महासंग्राम : सुर्खेत-२ मा बिसी भर्सेज थानी (भिडियो सामग्रीसहित)

चुनावी महासंग्राम : सुर्खेत-२ मा बिसी भर्सेज थानी (भिडियो सामग्रीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुई पूर्व सहकारी मन्त्री हृदयरामथानी र सहकारी अभियन्ता अमृत विसीको बीचमा तीव्र प्रतिस्पर्धा हुने भएको छ । 

सुर्खेतमा नेपाली कांग्रेसका नेता हृदयराम थानी सधैँ प्रभावशाली नेताका रूपमा रहे । ६२ वर्षीय थानी २०७३ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहकारी मन्त्री भएका थिए । 

०५१ सालमै संसदीय चुनाव लड्ने अवसर पाएका थानीको लगातार चार निर्वाचनमा एमालेका यामलाल कँडेलसँग हार्ने र हराउने क्रम जारी रह्यो ।  तर, संघीयता आएपछि कँडेल प्रदेशतिर झरे । 

२०७४ को चुनावमा थानीले नयाँ प्रतिस्पर्धी पाए, नवराज राउत । वामगठबन्धनको साझा उम्मेदवार बनेका एमालेका रावतले थानीलाई हराए । एमाले उम्मेदवार अमृत बिसी एमालेको सुर्खेत अध्यक्षसमेत हुन् । 

पहिलोपटक संसदीय चुनावमा प्रतिस्पर्धा गरिरहेका ६३ वर्षीय बिसी जिल्ला सहकारी संघ, सुर्खेतका अध्यक्ष पनि हुन् र सहकारी सदस्यको बलमा चुनाव जित्ने दाबी गर्छन् । 

कांग्रेस उम्मेदवार थानीले भने विगतमा सांसद र मन्त्री हुँदा आफ्नो पहलमा भएका विकास निर्माणलाई देखाएर चुनावी प्रचार गरिरहेका छन् ।
सुर्खेत, कांग्रेसमा उपसभापति पूर्वबहादुर खड्का र नेता थानीले दुईवटा गुट चलाउँदै आएका छन् । खड्काले संस्थापन र थानीले संस्थापन इतर पक्षको नेतृत्व गर्छन् ।

गत मंसिरमा भएको १४ औँ महाधिवेशनबाट सुर्खेतको नेतृत्वमा वर्चस्व जमाएको खड्का समूहले स्थानीय चुनावमा पनि थानी पक्षलाई बाइपास गरेको थियो । कांग्रेस उम्मेदवार थानी र एमाले उम्मेदवार बिसी दुवैको व्यक्तिगत सम्बन्ध पनि राम्रो छ । दुवैको चुनावमा विकासे एजेन्डा पनि मिल्दाजुल्दा छन् ।

आन्तरिक कलहकै कारण ०७४ मा ६ स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले यो पटक चार पालिकामा खुम्चियो । कांग्रेस नेता थानीलाई पार्टीभित्रकै अरन्तघातको डर बढी रहेको छ । 

यद्यपि खड्का र थानी दुवैले स्थानीय चुनावको तिक्तता मेटिसकेको बताउने गरेका छन् । कांग्रेस उम्मेदवार थानी र एमाले उम्मेदवार बिसी दुवैको व्यक्तिगत सम्बन्ध राम्रो छ । दुवैको चुनावमा विकासे एजेन्डा पनि मिल्दाजुल्दा छन् । 

वीरेन्द्रनगरलाई नमुना सहर बनाउने, खानेपानी समस्या समाधान गर्ने कृषि, पर्यटन, प्रविधि, जलविद्युत् र सडक सञ्जाल दुवैको चुनावी एजेण्डा छ ।

एमाले उम्मेदवार बिसी पनि थानीप्रति सद्भाव भए पनि जनताले आफूलाई जिताउने दाबी गर्छन् । सुर्खेत २ को विकास र त्यहाँको प्रचुर सम्भावनालाई अगाडि बढाउन आफैँले जित्नुपर्ने दुवै नेताको दाबी छ ।

राष्ट्रिय राजनीतिमा एमालेको प्रभाव र जिल्लामा आफ्नो स्वच्छ छविका कारण पनि चुनाव जित्ने बिसीको दाबी छ । सुर्खेत २ मा तीन दशकदेखि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ । र, दुवै दलको अवस्था उस्तै छ । 

सुर्खेत २ मा चौकुने, बराहाताल गाउँपालिका र पञ्चपुरी, वीरेन्द्रनगर नगरपालिकाका १४ वडा पर्दछन् । ३० वैशाखको स्थानीय निर्वाचनमा चौकुने माओवादीले जितेको छ । पञ्चपुरी नगरपालिका र बराहाताल गाउँपालिका कांग्रेसले जितेको छ भने वीरेन्द्रनगर एमालेले जितेको छ ।