close

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी : अध्यक्ष दाहाल

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी : अध्यक्ष दाहाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन् । 

गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उनले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताए । 

मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताए । ‘यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ’, अध्यक्ष दाहालले भने, ‘मुलुकलाई समृद्ध बनाउनका लागि प्रतिबद्धता पत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ, आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभङ्ग गर्नुपर्ने अवस्था छ ।’

मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उनले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे । ‘म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो’, अध्यक्ष दाहालले भने । 

आर्थिक विकास र पूर्वाधारका दृष्टिले गोरखा जिल्ला उपयुक्त रहेको आफूले पाएको जनाउँदै उनले बूढीगण्डकी परियोजना तथा उत्तरदक्षिण सडक सञ्जालको विकास गरेर गोरखाको उन्नतिमा गुणात्मक फड्को मार्न सक्ने बताए ।  

आगामी निर्वाचनमा दुई विचार, प्रवृत्ति, संस्कृति र गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उहाँले प्रतिगमनकारी गठबन्धनलाई निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताए । 

मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीले आफ्नो प्रतिबद्धता पत्रमार्फत संरचनागत सुधारको विषय उठाएको जनाउँदै उनले शासकीयस्वरुप र निर्वाचन प्रणाली परिवर्तन तथा २०४७ पछि लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषय माओवादीले मात्रै उठाएको बताए ।