close

पाल्पा क्षेत्र नम्बर २ मा कसले मार्ला बाजी ? (भिडियो रिपोर्टसहित)

पाल्पा क्षेत्र नम्बर २ मा कसले मार्ला बाजी ? (भिडियो रिपोर्टसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं ।  भन्छन्, राजनीतिमा स्थायी मित्र वा शत्रु हुँदैनन् । पछिल्ला केही वर्षमा नेपाली राजनीतिमा भएका उथलपुथलले मित्रलाई शत्रु र शत्रुलाई मित्र बनाएको छ । आन्दोलनको एउटै मोर्चामा काँधमा काँध मिलाएका नेता अहिले एकअर्काका प्रतिद्वन्द्वी बनेका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ को अवस्था पनि यस्तै छ । कुनै बेला एउटै पार्टीमा सहयोगी बनेर बसेका ठाकुर गैरे र सोमप्रसाद पाण्डे अहिले पाल्पा–२ मा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । चुनावी अखाडामा एकअर्काका दुस्मन बनेका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा पाल्पा–२ बाट कुनै बेला एउटै पार्टी नेकपा एमालेमा रहेका ठाकुर गैरे र सोमप्रसाद पाण्डे आपसमा भिडन्त गर्दैछन् । एमालेमा रहँदा पाण्डे  कै सहयोगीका रुपमा प्रचार प्रसारको मोर्चाको अग्रपंक्तिमा देखिन्थ्ये, ठाकुर गैरे । तर, अहिले गैरे एमाले र पाण्डे नेकपा एकीकृत समाजवादीबाट एकअर्कालाई हराउन कम्मर कसेर लागेका छन् । देशका अन्य निर्वाचन क्षेत्रमा झैँ पाल्पामा पनि एमाले विभाजनको नराम्रो असर देखिएको छ । 

नेताहरूमा मनमुटाव बढेको छ । जिल्लास्थित कार्यकर्ता वर्षौंदेखि पाण्डेको छायाँमा परेका गैरेले यसपटक उनलाई कडा टक्कर दिने अनुमान लगाउँदैछन् । एकीकृत समाजवादीका नेता पाण्डे खारिएका राजनीतिज्ञ हुन् । उनी यो क्षेत्रबाट छैटौं पटक प्रतिस्पर्धामा गर्दैछन् । अनेरास्ववियुको अध्यक्ष हुँदै विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएका गैरेलाई स्पष्ट वक्ता र प्रभावशाली युवा नेताका रुपमा लिइन्छ । 

तर, दुई बामपन्थी नेता एक आपसविरुद्ध चुनावी मैदानमा उत्रिँदा कसले बाजी मार्छ भनेर भन्न सकिने अवस्था छैन । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनबाट पाल्पा नेपाली कांग्रेसको गढका रुपमा उदाएको थियो । त्यसबेला यहाँको तीन वटै क्षेत्रमा काँग्रेसले जित हासिल गरेको थियो । तर, २०५१ सालपछिका हरेक निर्वाचनमा बाम वर्चस्व देखिएको छ । २०७० सालमा साबिकको क्षेत्र नम्बर ३ बाट काँग्रेसका हरिप्रसाद नेपालले विजय हासिल गरे ।

२०६४ मा तत्कालीन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रकी लीला सोमई विजयी भएकी थिइन् । २०७४ मा दुई निर्वाचन क्षेत्र कायम गरिँदा दुवैमा एमालेले जितेको थियो । २०५१ सालपछि कांग्रेसले क्षेत्र नम्बर १ बाट चुनाव जित्न सकेको छैन । त्यसैले यो क्षेत्रमा अहिले एमाले बलियो मानिन्छ ।

तर, पार्टी फुटको असर कार्यकर्ता तहसम्म देखिएको तथा पाण्डेलाई सत्ता गठबन्धन दलको सहयोग मिलेको कारण गैरेको जित भने सहज देखिँदैन । अहिले पाल्पा–२ मा दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा १३ जना उम्मेदवार छन् । २०७४ मा क्षेत्र २ बाट वाम गठबन्धनका तर्फबाट पाण्डे नै उम्मेदवार थिए । त्यसबेला कांग्रेसका हरिप्रसाद नेपाललाई पराजित गरी उनी विजयी भएका थिए  । यस पटक २०७४ को जस्तो अवस्था छैन ।

स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा भने अहिले एमाले अगाडि छ । एमालेले क्षेत्र २ मा पर्ने वडाहरूबाट ३० हजार ५ सय ३६ मत पाएको थियो भने कांग्रेसले २९ हजार ३९ मत पाएको थियो । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले ४ हजार ३ सय १३, एकीकृत समाजवादीले ४ सय ३३ तथा  राष्ट्रिय जनमोर्चाले ८ सय ८४ मत पाएको छ । समग्र मतलाई आधार बनाउँदा भने अहिले गठबन्धन अगाडि देखिन्छ । पाल्पा–२ मा तानसेन नगरपालिका, बगनासकाली, रिब्दीकोट, तिनाउ, रैनादेवी छहरा गाउँपालिका पर्छन्  ।