close

सरकार प्रहरीको साथमा रहेको गृहमन्त्रीको स्पष्टोक्ति

सरकार प्रहरीको साथमा रहेको गृहमन्त्रीको स्पष्टोक्ति

Trulli
ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औँ (पोष्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस साइन्स १२औँ) समूहको दीक्षान्त समारोहमा उहाँले तालिमका दौरान प्रशिक्षार्थीले बगाएको पसिनाले भोलिका दिनमा फिल्डमा आउनसक्ने हर चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास व्यक्त गरे । 

गृहमन्त्री खाँणले तालिममा सिकेका सीपमार्फत् अपराध नियन्त्रण र अनुसन्धान क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने अपेक्षा रहेको उल्लेख गरे । 

कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेका हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउँदै उनले दीक्षित हुने अधिकृतहरू हरेक जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुने गरी सेवा प्रदान गर्न सफल हुने बताए । 

गृहमन्त्री खाणले प्रहरीका तालिममा आवश्यकताअनुरूप बजेट विनियोजन हुँदै आएको तथा विकसित चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न सङ्गठनले थप नयाँ तालिमको महसुस गरेमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहेकोसमेत उल्लेख गरे । 

समारोहमा गृहमन्त्री खाँणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बूलाई स्व कुलानन्द स्मृति पुरस्कार प्रदान गरे । साथै उनले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आदर्श गिरी, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आशिष पोखरेल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारी, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अभय लामा, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक पूर्णबहादुर केसी र शारीरिक व्यायाम र प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सनम मल्ललाई पुरस्कार प्रदान गर्नाका साथै उत्कृष्ट प्रशिक्षकलाई पुरस्कार प्रदान गरे । 

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेतृत्व विकास प्रहरी निरीक्षक तालिमको अभिन्न अङ्ग रहेको चर्चा गर्दै यस तालिमले दीक्षित हुने प्रशिक्षार्थीहरूको नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठिन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफू मातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको विश्वास व्यक्त गरे । 

समाज र आमनागरिकले प्रहरीबाट उच्च अपेक्षा गरेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले विवेकसम्मत भई व्यावसायिकता अङ्गीकार गरेमा मात्र आम नागरिकका जायज तथा कानुनसम्मत अपेक्षा पूरा गर्न सकिने उल्लेख  गरे । 

व्यावसायिक उत्कृष्टता, निष्ठा र इमानदारीको उच्चतम् स्तर कायम गरी कार्यक्षेत्रमा आफूलाई प्रस्तुत गर्न दीक्षित हुने प्रशिक्षार्थीहरूलाई उनले निर्देशन दिए । कानुनले निर्दिष्ट गरेको गरेको परिधिभित्र रही अपराध अनुसन्धान र कानुन कार्यान्वयनमा कठोरता अपनाउन एवम् गैरकानुनी तथा आपराधिक क्रियाकलापविरुद्ध थप निर्मम हुनसमेत उनले निर्देशन दिए । 

समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका सहायक डिन सहप्राडा हरिप्रसाद अधिकारीले पिजिडिपिएस कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई अनुशासन र शिक्षा विकास गर्न प्रश्रय दिएको बताए । 

प्रहरी सङ्गठनको आवश्यकतानुसार पिजिडिपिएस कार्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने उल्लेख गर्दै सङ्गठनको सेवालाई थप चुस्त र दुरुस्तरूपमा कार्य सम्पादनका लागि प्रहरी कर्मचारीहरूमा प्रतिबद्धता, निरन्तरता र समन्वय आवश्यक रहेको चर्चा गर्नुभएको समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीलाई शपथग्रहण गराउनाका साथै स्वागत मन्तव्य व्यक्त गरे । 

उनले तालिमसम्बन्धी जानकारी दिँदै २०७८ साउन १३ गतेदेखि सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोष्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १४ महिलासहित कूल एक सय ४६ जना प्रहरी निरीक्षक सहभागी भएकामा सबै जनाले सफलतापूर्वक तालिम हासिल गरेको बताए ।