काठमाडौं । आगामी चुनावमा मत सर्वेक्षण गरे कारबाही हुने भएको छ ।बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार एक सूचनामार्फत् यस्तो जानकारी दिएका हुन् ।
साथै, निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण नगर्न पनि आयोगले अनुरोध गरेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।
साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।
आचारसंहिताका व्यवस्थाविपरीत कोही कसैले कार्य गरेमा कानुनबमोजिम कारबाही हुने पनि आयोगले जनाएको छ ।