बझाङ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भानुभक्त जोशी र नेकपा एमालेका नेता ऐन महरबीच प्रतिस्पर्धा हुने भएको छ ।
भानुभक्त जोशी बझाङ कम्युनिस्टका संस्थापक नेता हुन् । सरल स्वभावका विकासप्रेमी नेता जोशी जिल्लामा निकै लोकप्रिय कम्युनिस्ट नेता मानिन्छन् ।पूर्ववनमन्त्रीसमेत भइसकेका जोशी २०५१ र ०६४ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् ।
आसन्न निर्वाचनका लागि बामलोकतान्त्रिक गठबन्धनबीच तालमेल हुँदा बझाङ नेकपा–एकीकृत समाजवादी) को भागमा परेको थियो । बामलोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार जोशी २०६४ सालमा आफ्नै स्वकीय सचिव रहेका महरभन्दा जनमतको हिसाबले सशक्त बलियो देखिएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसंग तालमेल गरेका कारण प्रतिनिधिसभामा जोशीको उम्मेदवारी एमाले नेता महरका लागि भारी पर्ने देखिएको छ ।
बामलोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर ‘क’मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह र ‘ख’मा नेकपा माओवादी केन्द्रका भीम भण्डारी चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभामा एमालेको तर्फबाट प्रदेश सभा ‘क’ मा अफिलाल ओखेडा र ‘ख’ मा एलबी रावल चुनावी मैदानमा छन् ।
बामलोकतान्त्रिक गठबन्धनको कसिलो तालमेल, साझा उम्मेदवार जोशीको व्यक्तिगत छवि तथा वर्तमान चुनावी अंक गणितमा एमालेभन्दा भारी मतान्तरले अगाडि रहेका कारण बझाङमा बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई एमालेका उम्मेदवारले टक्कर दिन मुस्किल पर्ने विश्लेषण गरिएको छ ।
यस्तो छ, अहिलेको मतभार
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतलाई विश्लेषण गर्ने हो भने बामलोकतान्त्रिक गठबन्धन एमालेभन्दा आठ हजार ३३२ मतान्तरले अगाडि छ ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार १६६, माओवादी केन्द्रले ९ हजार १४५ र नेकपा एकीकृत समाजवादीले सात हजार ६३२ मत प्राप्त गरेका थिए । यद्यपि स्थानीय निर्वाचनमा समेत यी दलको चुनावी तालमेलका कारण सबै वडामा सबै पार्टीले उम्मेदवारी दिएका थिएनन् ।
स्थानीय तहको निर्वाचनमा सबै पालिकाका सबै वडामा उम्मेदवारी दिएको एमालेले २८ हजार ६११ मत पाएको थियो । यो चुनावी अंक गणितलाई विश्लेषण गर्ने हो भने बझाङमा बामलोकतान्त्रिक गठबन्धनभन्दा एमाले ८ हजार ३३२ मतले पछाडि छ ।
यस्तो छ विगतको नतिजा
दुई निर्वाचन क्षेत्र हुँदा बझाङ क्षेत्र नम्बर१ मा २०४८ र ०५६ मा नेपाली कांग्रेस विजयी भएको थियो भने २०५१ र २०६४ मा नेकपा एमालेबाट भानुभक्त जोशीले जीत हात पारेका थिए ।
२०६४ को निर्वाचनमा देशभरबाट नेकपा एमाले ३१ सिटमा खुम्चिँदा बझाङमा भानुभक्त जोशीले एक सिट जितेर सुदूरपश्चिममा एमालेको बिउ जोगाएका थिए ।
यसैगरी, २०७० को निर्वाचनमा पनि बझाङ क्षेत्र नम्बर–१ मा नेकपा एमाले विजयी भएको थियो ।
उता बझाङ क्षेत्र नम्बर२ मा २०५१ मा स्वतन्त्र उम्मेदवार नरेश सिंहले जित हात पारेका थिए भने २०४८ र २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा माओवादी र २०७० मा एमालेले जित हात पारेको थियो ।
२०७४ मा निर्वाचन क्षेत्र हेरफेर भएर सम्पूर्ण जिल्ला एउटा मात्रै निर्वाचन क्षेत्र कायम भएपछि माओवादीको समर्थनमा बामगठबन्धनका तर्फबाट भैरवबहादुर सिंह विजयी भएका थिए ।
अहिले बामलोकतान्त्रिक गठबन्धनको पल्ला भारी छ । केही समयअघिसम्म प्रतिनिधिसभाको सिट दाबी गर्दै आएको बझाङको नेपाली कांग्रेसले गठबन्धनको भागबण्डा मिलाउन आफ्नो दाबी छोडेर नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीलाई समर्थन गरेको छ । बझाङमा नेपाली कांग्रेसबाट अर्जुनजङ्गबहादुर सिंह, पृथ्वीबहादुर सिंह र नरेशबहादुर सिंहले दाबी गरेका थिए ।
कांग्रेसका पृथ्वीबहादुर सिंह बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा ‘क’ को चुनावी मैदानमा छन् । बझाङ कांग्रेसका प्रभावशाली नेता सत्यराज भण्डारी, जनक बुढा, अर्जुनजङ्गबहादुर सिंह र नरेशबहादुर सिंहलगायत नेता एक ढिक्का भएर बामलोकतान्त्रिक गठबन्धनको पक्षमा उभिएका छन् ।
नेकपा एमाले बझाङका संस्थापक नेतासमेत रहेका वर्तमान बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीले एमालेकै करिब ४० प्रतिशत मत काट्ने नाम उल्लेख नगर्ने सर्तमा नेकपा एमाले बझाङका एक पदाधिकारीको स्वीकारोक्ति छ ।
आमबझाङी जनतामाझ लोकप्रिय व्यक्तिगत छविका कारण प्रतिस्पर्धी एमाले नेता ऐन महरको तुलनामा जोशीले अत्यधिक लोकप्रिय मत पाउने विश्लेषण गरिएको छ ।
बझाङमा नेकपा एमालेको तर्फबाट विद्यार्थी नेता ऐन महर चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंलाई आधार मानेर विद्यार्थी राजनीतिबाट उदाएका महर बझाङका लागि प्रतिस्पर्धी जोशीको तुलनामा निकै कमजोर देखिन्छन् ।
राजनीतिक योगदानभन्दा पनि नेताको आर्शिवादले टिकट पाएको आरोप लाग्दै आएका महरको उम्मेदवारीले नेकपा एमाले बझाङभित्रै चरम असन्तुष्टि छ ।
गत स्थानीय निर्वाचनमा आफ्नै सहोदर भाइलाई आफ्नै वडामा वडाअध्यक्षसमेत जिताउन नसकेका महरका लागि जिल्लामा पुराना र त्यागी नेतालाई पन्छाएर टिकट फुत्काउन सफल भए पनि आसन्न निर्वाचन जित हात पार्नचाहिँ फलामको च्यूरा चपाउनुजस्तै रहेको चर्चा बझाङका राजनीतिक विश्लेषणबीच हुने गरेको छ ।