काभ्रे । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का लागि उम्मेदवारी दर्ता गर्न गएका शिव प्रसाद हुमागाईं भुईंमै सुते ।
टोपी, स्टकोट, टल्किएको कालो जुत्ता लगाएर उम्मेदवारी दर्ता गर्न गएका हुमागाईं अकस्मात भुईंमै सुतेपछि वरिपरि रहेका कार्यकर्ताहरू अचम्मित परेका थिए ।
‘काभ्रेको माटो र काभ्रेली जनता एवं मतदाताको शिर उच्च राख्ने उद्देश्यले कसम खानका लागि भूईंमै सुतेको’ उनीसँगै गएका कार्यकर्ताको बुझाई छ ।
यसबारे थप जानकारी लिन उनै उम्मेदवार हुमागाईंलाई फोन गर्दा उनको मोबाइल भने ‘स्वीच अफ’ थियो ।
नेपाली कांग्रेसको काभ्रेपलाञ्चोक जिल्ला सभापतिका रुपमा दुई कार्यकाल बिताएका हुमागाई यसअघि पनि पराजित उम्मेदवार हुन् ।
आफूलाई निर्वाचनमा असहयोग गरेको भन्दै हुमागाईंले काभ्रेका विद्वान नेता मधु आचार्यलाई कारवाही गर्नुपर्ने भन्दै पार्टी कार्यालय सानेपा घेराउ गर्न पुगेका थिए । त्यतिबेला सोही क्षेत्रबाट एक छापे मत परेको थियो । प्रत्यक्षमा मतदान नगरी समानुपातिकमा मात्रै ठूलो संख्यामा मतदान गराएको आरोप नेता मधु आचार्यमाथि थियो ।
हुमागाईंले उम्मेदवारी दिएको क्षेत्रमा लामो समय काम गरेका मधु आचार्यको सांगठनिक रुपमा सो क्षेत्रमा पकड रहेको छ । यस पटक पनि टिकटका दावेदार रहेका मधु आचार्यलाई पछि पार्दै हुमागाईंले टिकट हत्याएका हुन् ।
नेकपा एमालेबाट सोही क्षेत्रमा गोकुल बास्कोटा उम्मेदवार बनेका छन् । बास्कोटा ओली प्रधानमन्त्री हुँदा सञ्चारमन्त्री भएर आफ्नो प्रोफाईल बढाए पनि स्वीस प्रेस खरिद प्रकरणमा मुछिएपछि विवादित बनेका थिए । बास्कोटाको तुलनामा हुमागाईं स्वच्छ छविका नेताका रुपमा परिचय बनाएका छन् ।