काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुर्याउन सकिने बताएका छन् ।
त्रिचालिसौँ सामाजिक सुरक्षा दिवसको अवसरम आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले सामाजिक सङ्घसंस्थाहरू नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेको भन्दै परिषद्लाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सामाजिक सेवाभावको पवित्र उद्देश्यले स्थापना भएको समाज कल्याण परिषद्ले बहुआयामिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउँदै उनले सामाजिक सङ्घसंस्थालाई देश र समाजप्रति उत्तरदायी बनाएर नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘समाजसेवा पवित्र र पूण्य कार्य हो । समाजका दीन दुःखी अशक्त र सामाजिक आर्थिक दृष्टिकोणले पछि परेका वर्ग, समुदायको उत्थान र विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको छ, यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउन जरुरी छ ।’