काठमाडौं । नेपालको संविधान २०७२ जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधिसभाका सांसदहरूको कार्यकाल आज राति १२ बजे सकिँदैछ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २ र ३ गते बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको कार्यकाल सकिने प्रावधान छ ।
आज अन्तिम बैठक बस्दैछ । आजको बैठकमा राष्ट्रपति भण्डारीबाट प्राप्त पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।
दिउँसो एक बजे सुरु हुने बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची पनि छ ।