close

प्रकाशमानलाई रवीन्द्रको जवाफ : मलाई व्यंग्य गर्ने ‘वरिष्ठ नेता’लाई १५ प्रश्न

प्रकाशमानलाई रवीन्द्रको जवाफ : मलाई व्यंग्य गर्ने ‘वरिष्ठ नेता’लाई १५ प्रश्न

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई रवीन्द्र मिश्रले जवाफ फर्काएका छन् । शनिबार एक कार्यक्रममा नेता सिंहले दुई वर्ष पनि पार्टी नेतृत्व  गर्न नसक्नेले देश कसरी बनाउलान् भन्दै मिश्रलाई घोचपेच गरेका थिए । मिश्रले सोको जवाफ सामाजिक सञ्जालमार्फत् फर्काएका छन् ।

प्रस्तुत छ, मिश्रले सिंहलाई फर्काएको जवाफ उनकै शब्दमा

लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘वरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यंग्य गर्नुभएछ। उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर, उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो:

१. पन्ध्र वर्ष सांसद हुँदा, संसद‍् चलेका कुल दिनहरूमा तपाईं कति पटक संसद‍्मा उपस्थित हुनुभयो ? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?

२. संसद् भनेको देशको नीति-नियम बनाउने थलो हो। तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्त्वका के, के विषयमा कति पटक बोल्नुभयो ?  बोल्नका लागि मात्र बोल्नुभयो कि त्यसको कुनै ठोस परिणाम पनि आयो ?

३. तपाईं देशको राजधानी काठमाडौंको १५ वर्षदेखिको सांसद । राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धुलोधुवा नियन्त्रित, ट्राफिकजाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनुभयो ? फेरि तपाईं त कुनै बेला वातावरणमन्त्री पनि हुनुहुन्थ्यो !

४. काठमाडौँ सम्पदाको शहर हो। सम्पदा संरक्षणका लागि संसद‍्मा कुनै आवाज उठाउनु भयो कि ?

५. बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ। तपाईं युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो। अहिले छुन पनि हिचकिचाउनुपर्छ। नदीनाला सफाईका लागि के काम गर्नुभयो ?

६. त्यो सांसद विकास कोष भन्ने छ नि ? त्यो खासमा बाहालवाला सांसदलाई ‘ठेकदार’ बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनी राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरी छुट्याइएको बजेट हो। तपाईंले त्यो लिनु भयो कि भएन ? वास्तवमा भन्ने हो भने तपाईंले संसद‍्मा त्यसको घनघोर विरोध गर्नु पर्थ्यो नि, हगी ?

७. तपाईं मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो कि ? सुशासनका लागि सरकारी कर्मचारीको ‘दलीय’ युनियन हुनुहुँदैन भन्नुभयो? अनि नि, तपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा तीन वर्षमा ३०० दिन तालाबन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो ?

८. इमानदार र स्वच्छ छवि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरूद्ध बोल्नुभयो कि?

९. साँच्ची, नेपाली पुरुषसँग विवाह गरेलगत्तै विदेशीलाई नागरिकता दिने, तर देशभित्रकै महिला र पुरुषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसिसी, एसपिपीबारे चाहिँ तपाईंको धारणा के रह्यो?

१०. द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्ने त्यतिबेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्वन्धमा जुन अत्यधिक ढिलासुस्ती भएको छ, त्यसबारे खै तपाईंले कतै केही गर्नु भएन। त्यो त गम्भीर विषय हो नि। अलि चासो दिनु पर्थेन ?

११. हुन त, विचरा आफ्नै शुभेच्छुक, सदस्य, नेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई ‘भोट देऊ’ भन्दै हिँड्नु परेको छ। त्यो त अति भएन र भन्या ?

१२. तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, पार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो?

१३. अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घडीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ?

१४. झण्डै एउटा कुरा बिर्सिएको । गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेराविरूद्ध शृ‌ंखलाबद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रे ? तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ, छ भने बताइदिनोस् न, कृपया ।

१५. तपाईंले मलाई दुई वर्ष पार्टी टिकाउन नसक्ने भन्नु भएछ। मैले त बिपी, कृष्णप्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हुँ। गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ।

तपाईंले त ती तिनै महान् नेताका आत्मा मारिदिनुभयो। १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन। मौका पाए पनि कोही नबस्ने देश बनाउनुभयो। राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो। खै के भनूँ ! अहिले बेकारमा मलाई व्यंग्य गर्नु हुन्छ। मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि?

मनमा खर्रर आएको मात्र लेखेको हुँ। अहिलेलाई यति नै। छुटेका कुरा पछि गर्दै जाउँला। नमरी बाँचे, कालले साँचे भेटौँला कुनै दिन !