काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बुधबार साँझ बसेको बैठक दलका नेताहरु आआफ्नो अडानमा अडिग रहँदा बिना निष्कर्ष टुंगिएको थियो । दलहरूको आ-आफ्नै दाबीका कारण अहिलेसम्म पनि प्रतिनिधिसभाको १६५ र प्रदेश सभाको ३३० सिटका लागि सिट बाँडफाँट हुन सकेको छैन ।
गठबन्धनमा आबद्ध नेपाली कांग्रेस एक्लैले १०० सिटमा दाबी गरिहेको छ । त्यस्तै, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ । यस्तोमा सहमति जुटाउन कार्यदललाई सकस परेको छ ।