close

सुन्दर र स्वच्छ सहर व्यवस्थित सहरीकरणको आधार : प्रधानमन्त्री

सुन्दर र स्वच्छ सहर व्यवस्थित सहरीकरणको आधार : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताएका छन् । 

बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

साथै, नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उनले बताए । 

बुटवलले व्यवस्थित सहरी विकासमा फड्को मार्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै यो सञ्चालनका लागि सरकारले छिट्टै निश्चित विधि तयार गर्ने बताए । 

मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय तहमा विकासका पूर्वाधार बढेको र व्यवस्थित तरिकाले सहरी पूर्वाधार अघि बढाउन जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे । 

उनले प्रदेश र स्थानीय तहले योजनाबद्व सहरी विकासमा जोड दिनुपर्ने बताए । ‘जनातालाई आफ्नै थातथलोमा आधुनिक सहरी विकासको सेवा पुर्‍याउन सके अनियन्त्रित बसाइँसराइ रोकिन्छ,’ उनले भने । 

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले बुटवल नेपालको मध्यभागमा रहेको र संंसारको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी रहेकाले यस क्षेत्रको विकासले समग्र देशकै विकासको आधारशीला तयार गर्ने विश्वास व्यक्त गरे । 

उनले नागरिक र जनप्रतिनिधिको साझा प्रतिबद्वता रुपन्देहीको विकासको प्रतिफलले देशकै आर्थिक विकासमा टेवा पुर्‍याउने बताए ।

गृहमन्त्री खाँणले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आए पनि आर्थिक केन्द्रको रूपमा सञ्चालन गर्न  गतिशील र चलायमान बनाउन नसकिएको बताए । 

उनले विमानस्थलका लागि अन्तर्राष्ट्रिय हवाईमार्गको सञ्जाल बढाउन प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसमक्ष थप हवाई उड्डयन र एयररूटको अनुमतिका लागि अनुरोध गरेको जानकारी दिए । 

भारतीय तहबाट हवाईमार्गका लागि अनुमतिप्राप्त हुँदा गौतमबुद्ध विमानस्थल मात्र नभएर काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि समेत सहज हुने उनको भनाइ छ ।