close

पार्टीबाट स्थानीय तहमा नेतृत्व गर्ने जनप्रतिनिधिलाई देउवाले भने : जनताको सुख,दुखमा साथ दिनूस्

पार्टीबाट स्थानीय तहमा नेतृत्व गर्ने जनप्रतिनिधिलाई देउवाले भने : जनताको सुख,दुखमा साथ दिनूस्

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीबाट बनेका जनप्रतिनिधिलाई स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएकाे बताउँदै जनताका सुख दुःखमा साथ आग्रह गरेका छन् । 

स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षका लागि सोमबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

सो क्रममा लोकतन्त्रलाई स्थानीय तहदेखि नै कुशल र दूरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिएका छन् । 

उनले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको दुःख सुखमा महलमपट्टि लगाउन सक्नेगरी काम गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे । 

उनले भने, ‘तपाईंहरूले जति चुस्त र प्रभावकारी तवरले सार्वजनिक सेवा प्रवाह गर्न सक्नुभयो, जति प्रभावकारी तवरले कास निर्माणका कार्यलाई अघि बढाउनसक्नुभयो, जनताले त्यति धेरै सुशासनको अनुभूति पाउँछन् ।’ 

यस्तै, उनले  उपलब्ध साधनस्रोतको प्राथमिकीकरण गरेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

मुलुकमा तीन तहको सङ्घीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जनताको शासक होइन सेवक र प्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुपर्ने बताए । 

उनले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्नुपर्ने बताउँदै स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटोछरितो ढङ्गले बिनाझन्झट सम्पन्न गरी आमनागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य भएको बताए । 

उनले जनताप्रति उत्तरदायी बन्दै पारदर्शीता र गुणस्तरीयता कायम गरेर काम गर्न सबै स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गराए । 

निर्वाचित भइसकेपछि दलीय आग्रहभन्दा माथि उठेर जनताको साझा प्रतिनिधिको रूपमा सबैसँग सौहार्द्रपूर्ण सम्बन्ध र उचित समन्वय कायम गरेर काम गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एउटा राजनीतिक दलबाट निर्वाचित भएर आए पनि नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नसक्नु र विकास निर्माण र सेवा प्रवाहमा मेरो तेरो नभनी सबैलाई बिना भेद्भाव समान पहुँच स्थापित गर्नसक्नु कुशल नेतृत्वको गुण भएको बताए । 

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलतासाथ सम्पन्न भएसँगै मुलुक अहिले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको सङ्घारमा रहेको बताउँदै आगामी निर्वाचनमा जनताले आफ्नो मताधिकार प्रयोग गर्दा जनप्रतिनिधिहरुले आफ्ना क्षेत्रमा गरेका काम र सेवा प्रवाहमा भएका सुधारलाई मुख्य आधार बनाउने कुरामा कुनै शङ्का नरहेको उनको भनाइ थियो । 

जनताको मन जित्ने गरी, भ्रष्टाचार नगरी, विधिसम्मत् तरिकाले काम गरी बढीभन्दा बढी जनताको मत प्राप्त गरी आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा कांग्रेसलाई बहुमत दिलाउन प्रयासरत रहन उनले आग्रह गरे । 

कांग्रेस लोकतन्त्र र प्रजातन्त्रप्रति अटुट आस्था राख्ने मुलुककै सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएको र मुलुकमा २००७ सालदेखि २०६२/६३ सम्मका प्रत्येक जनक्रान्ति र आन्दोलनमा कांग्रसको निर्णायक भूमिका रहेको अवगत गराउँदै उनले भने, ‘यसरी गौरवपूर्ण राजनैतिक इतिहास बोकेको पार्टीका जनप्रतिनिधि हुन पाउनु तपाईंहरू सबैका लागि प्रतिष्ठाको विषय हो । अतः तपाईंहरूले कार्यसम्पादन गर्दा पार्टीको गौरवपूर्ण इतिहासलाई थप उजिल्याउने र नयाँ पुस्तालाई प्रेरणा र प्रोत्साहन मिल्ने गरी गर्न आवश्यक छ । यसले नयाँ पुस्तालाई पनि तपाईंबाट सिक्न अभिप्रेरित गर्नेछ ।’

अबको एकमात्र उद्देश्य भनेको मुलुकको द्रुत आर्थिक रूपान्तरण गरी समग्र नेपाली जनताको जीवनस्तरलाई माथि उठाउने रहेको उल्लेख गर्दै उनले जनप्रतिनिधिले काममा पारदर्शिता, गुणस्तरीयता र जवाफदेहिता सुनिश्चित गर्नु आवश्यक रहेको बताए ।