close

ओली र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

ओली र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ।

यसअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका लिउले मंगलवार ओली निवास बालकोट पुगेर  पूर्वप्रधानमन्त्री केपी शर्मा  ओलीसँग भेट गरेका हुन् । 

भेटका क्रममा दुवै पक्षबाट पारस्परिक हित र लाभका आधारमा सम्बन्ध अघि बढाउने आधार र मान्यताहरु अघि बढाउने बारेमा छलफल भएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए । 

‘शिष्टाचार भेटका लागि बालकोटमा आउनुभएको हो। विशेष गरी चीन र नेपालको सम्बन्ध धेरै अघिबाट राम्रो र सुमधुर रहँदै आएको छ। आजको बदलिँदो परिवेश जुन छ, क्षेत्रीय राजनीतिमा आइरहेको बदलाव, अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको बदलावहरूसँग पनि चीन र नेपालका जुन सम्बन्धका आधारहरू हिजो तय गरिएका थिए ती कायमै रहनेछन्। हामी पारस्परिक समानताका आधारमा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुकको एक अर्काको आन्तरिक मामलामा हस्तक्षेपको सिद्धान्त र एकले अर्कालाई पारस्परिक हित र लाभका आधारमा सम्बन्ध अघि बढाउने आधार र मान्यताहरु थिए र छन्,’ उनले भने। 

यस्तै, अध्यक्ष ओलीले विगतदेखिको एक चीन नीति र नेपाली भूभाग चिनियाँ वा अरु कुनैपनि मित्र राष्ट्रकाविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएको उल्लेख गरे। उनले अध्यक्ष ओलीले आगामी दिनमा पनि अहिलेझैँ नेपाल र चीनको सम्बन्ध सुमधुर बनाएर जाने प्रतिवद्धता व्यक्त गरेको बताए।

उनले भने, ‘चीनले नेपालको विकासलाई निरन्तर रुपमा अघि बढाउन चाहेको कुरा चीनको तर्फबाट आएको छ भने नेपालको तर्फबाट विगतदेखिको एक चीन नीति र नेपाली भूभाग चिनियाँ वा अरु कुनैपनि मित्र राष्ट्रविरुद्ध प्रयोग गर्न नदिने हाम्रो पुरानो प्रतिवद्धतामा नेकपा एमाले प्रतिवद्ध छ र हामी निरन्तर रुपमा अघि बढाउन चाहन्छौँ भन्ने कुरा राख्यौँ।’

यस्तै, नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् । होटल एभरेष्टमा भएको भेटमा दुई देश र दुई पार्टीको सम्बन्ध र पारस्परिक लाभका विषयमा छलफल भएको बताइएको छ । 

भेटपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने, ‘चीनको अन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्ष छैनौं । तिब्बतको इश्यु होस् कि ताइवानको, यो सबै चीनको आन्तरिक मामिलाको हो भन्ने हामीले राखेका छौं ।’