close

जसपामा औपचारिक फुटको तयारी, भट्टराईको पक्षमा छैन बहुमत

जसपामा औपचारिक फुटको तयारी, भट्टराईको पक्षमा छैन बहुमत

Trulli
ADVERTISEMENT

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।  

२३० जना केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको बैठकमा जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुवै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बनेको भन्दै अध्यक्ष भट्टराईले पार्टी पुनर्गठन के कसरी गर्ने? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार विस्तारित बैठकको अधिकार भएको स्पष्ट पारेका छन्।

उनले यो विषयमाथि गम्भीर, सघन र विहंगम विचार, विमर्श  गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार समेत बैठक सामु राखेका छन्।

बैठकमा उनले उनले विभिन्न राजनीतिक समूह, आन्दोलनकारी धारा, वैचारिक भावधारा र व्यक्ति व्यक्तित्व मिलेर  जसपा निर्माण गरेको स्मरण गर्दै त्यसको औचित्य र आवश्यकता झनै टड्कारो भएको बताए।

उनले छलफलका लागि आफूहरूसँग दुई वटा विकल्प रहेको बताएका छन्।

‘छलफलका लागि हाम्रा सामु दुई विकल्प हुन सक्छन्। एक- नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, दुई-विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने,' उनको प्रतिवेदनमा उल्लेख छ ।

उता भट्टराई पक्षको दाबीलाई मान्ने हो भने बैठकमा उपस्थित सदस्य संख्या कूल केन्द्रीय समिति सदस्यको ४६ प्रतिशतभन्दा बढी हो । जसपामा ४९९ सदस्यीय केन्द्रीय समिति छ । आफ्नो पक्षमा १० जना सांसद रहेको समेत उनी पक्षीय नेताहरूको दाबी छ । तर, केही कानुनी अड्चनका कारण उनीहरू बैठकमा उपस्थित नभएको उनीहरुले बताए ।

बैठकले निकालेका निष्कर्षको आधारमा हामी पुनर्गठित पार्टीको घोषणा-पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने बताइएको छ। सोही बमोजिम यसलाई वैधानिकता दिने प्रक्रिया पूरा हुने भट्टराईले बैठकमा बताए।

भट्टराई पक्षको विस्तारित बैठक काठमाडौँमा बसिरहँदा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक भोलिदेखि वीरगन्जमा बस्दै छ ।

 २०७६ वैशाख २३ मा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो । जसपा यसअघि नै एक पटक विभाजित भइसकेको छ । महन्थ ठाकुर जसपाबाट बाहिरिएर लोसपा गठन गरेका छन् ।