close

न्युयोर्क संसद्को तल्लो सदनमा नेपाली मूलकी श्रेष्ठ विजयी

न्युयोर्क संसद्को तल्लो सदनमा नेपाली मूलकी श्रेष्ठ विजयी

Trulli
ADVERTISEMENT

न्युयोर्क राज्यको संसद्को तल्लो सदनका १०३ नम्बर एसेम्ब्ली डिस्ट्रिक्टको डेमोक्रेटिक प्राइमरी चुनावमा नेपाली मूलकी उम्मेदवार सराहना श्रेष्ठले विजय हासिल गरेकी छिन् । २३ वर्षदेखि लगातार र सन् १९९३ मा एक कार्यकाल गरी १३  कार्यकाल न्युयोर्क संसद्को तल्लो सदनमा प्रतिनिधित्व गर्दै आएका ६६ वर्षका डेमोक्रेटिक उम्मेदवार केभिन काहिललाई श्रेष्ठले पराजित गरेकी हुन् ।

४० वर्षभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका काहिललाई ३ वर्ष अगाडि अमेरिकी नागरिकता लिएकी ४१ वर्षकी सराहना श्रेष्ठले पराजित गरेकी हुन् । सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठले सन् २०१९ मा मात्र अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् ।

श्रेष्ठले ७ हजार ७०२ भोट ल्याएकी छिन् भने काहिलले ७ हजार १७३ भोट ल्याएका थिए । अनुपस्थित र सहमति दिइएका मतपत्रहरू गणना नगरिँदै श्रेष्ठको जीत घोषणा गरिएको हो । अब नोभेम्बरमा हुने चुनावमा सन् १९९९ पछि पहिलो पटक काहिलको नाम मतपत्रबाट हट्ने भएको छ भने उक्त स्थानमा श्रेष्ठको नाम हुनेछ ।

डेमोक्र्याट्सहरूको बाहुल्यता रहेको उक्त डिस्ट्रिक्टमा नोभेम्बरमा श्रेष्ठको जीत लगभग सुनिश्चित रहेको छ । श्रेष्ठ न्युयोर्क राज्यको संसदमा उम्मेदवारी दिने र प्राइमरी चुनाव जित्ने नेपाली मूलकी पहिलो अमेरिकन हुन् । उनी नोभेम्बरको निर्वाचन पछि अमेरिकाको राजनीतिमा सबैभन्दा उच्च तहमा पुग्ने  नेपाली मूलकी पहिलो महिला हुनेछिन् ।
जलवायु सङ्कट र आर्थिक तथा सामाजिक न्यायका विषयमा आवाज उठाउँदै आएकी उनले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्नेछिन् ।

श्रेष्ठले गत वर्ष नै  चुनावी अभियान सुरु गरेकी थिइन् । श्रेष्ठले न्युयोर्क हेल्थ एक्ट, गुड कज इभिक्सन र ग्रिन न्यु डिलजस्ता वामपन्थी एजेन्डाहरूको समर्थन गरेकी छिन् । डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टर र फर द मेनी नामको समूहले श्रेष्ठको उम्मेदवारीको समर्थन गरेका थिए । 

उनको उम्मेदवारीको चर्चित अमेरिकन सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेजले पनि समर्थन गरेकी थिइन् । त्यस्तै अमेरिकन चर्चित कलाकार र अधिकारकर्मी सिन्थिया निक्सनले पनि उनको उम्मेदवारीको समर्थन गरेकी थिइन् ।

श्रेष्ठ अमेरिकामा डेमोक्रेटिक सोसलिष्टकी सदस्य समेत हुन् भने उनी डेमोक्रेटिक सोसलिष्टको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह अध्यक्ष समेत हुन् । त्यस्तै उनी स्वच्छ, नवीकरणीय, किफायती र पहुँचयोग्य विद्युत् आपूर्तिको प्रवर्द्धनका क्षेत्रमा काम गर्ने गठबन्धन पब्लिक पावर न्युयोर्ककी नेता समेत हुन् ।

न्युयोर्क राज्यको तल्लो सदनमा हरेक सांसदले झण्डै १ लाख ३० हजार बासिन्दाको प्रतिनिधित्व गर्दै आएका छन् । न्युयोर्क राज्य संसद्को तल्लो सदनमा प्रतिनिधित्व गर्ने सांसदको कार्यकाल २ वर्षको हुने गर्छ ।

पछिल्लो समयमा अमेरिकन मूलधारको राजनीतिमा नेपाली अमेरिकनहरूको सहभागिता बढ्दै गएको छ । अहिलेसम्म जन निर्वाचित सबैभन्दा उच्च पदमा पुग्न सफल नेपाली अमेरिकन मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी हुन् ।