काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेका महासचिव शंकर पोखरेलको अभिव्यक्तिको खण्डन गरेका छन् ।
नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादको लक्ष्य र चुनौती विषया आयोजित कार्यक्रममा महासिचव पोखरेलले वाम दलले कांग्रेससँग गठबन्धन गरेर समाजवादमा पुग्न सकिँदैन भनी दिएको अभिव्यक्तिको उनले खण्डन गरेका हुन् ।
पौडेलभन्दा अघि बोलेका महासचिव पोखरेलले कसैकाे रिसले बनेकाे गठबन्धनबाट मुलुकलाई फाइदा नहुने र समाजवादको संकल्प झुटो हुने तथा नेपाली कांग्रेससँग गठबन्धन गरेर समाजवाद असम्भव भन्ने अभिव्यक्ति दिएका थिए ।
पोखरेलको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले भने, ‘यो संविधान जोगाए मात्रै समाजवादको जग जोगिन्छ ।’
पौडेलले एमालेले संविधान भत्काउन लागेकाले गठबन्धन बनेको पनि बताए ।
‘म शंकरजीलाई भन्न चाहान्छु कि समाजवादमा पुग्ने आधार अहिलेको संविधान हो । यो भत्काउन लागेकाले जोगाउन गठबन्धनको आवस्यकता परेको हो’ पौडेलको भनाइ छ । उनले समाजवादका लागि नेता कार्यकर्ताको कार्यशैली बदल्नुपर्ने पनि बताए ।
पौडेलले आफूले बुझेको समाजवाद निमुखालाई न्याय र विपन्नलाई आय भएको बताएका छन् ।