close

माधव नेपालसँगको सम्बन्धबारे योगेश भट्टराईको ११ बुँदे स्पष्टीकरण

कमरेड रन्जनको उपनामबाट माधव नेपालसँग चिनजान

माधव नेपालसँगको सम्बन्धबारे योगेश भट्टराईको ११ बुँदे स्पष्टीकरण

कमरेड रन्जनको उपनामबाट माधव नेपालसँग चिनजान

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका सचिव याेगेश भट्टराईले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र आफ्नाे सम्बन्धबारे ११ बुँदे स्पष्टीकरण दिएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले माधव नेपाललाई पञ्चायतकालमा कमरेड रन्जनकाे उपनामले चिनेदेखि हालसम्मकाे सम्बन्धका उचार-चढाबबारे प्रष्ट पारेका छन् । 

माधव नेपालबाट थुप्रै प्रशिक्षण लिएकाे भए पनि कसैकाे अन्धभक्त हुने स्वभाव आफ्नाे नरहेकाे भट्टराईले बताएका छन् । आफूहरूमाथि पटक–पटक भद्दा र असिष्ट टिप्पणी गरे पनि उहाँ (माधव नेपाल)काे सम्मानका लागि आफूले कुनै टिप्पणी नफर्काएकाे भट्टराईको भनाइ छ । 

तर पछिल्लाेपटक आफूले जीवनाेपयाेगी जवाफ फर्काउँदा समाजवादीका युवाकाे चित्त दुखेकाे उनले बताएका छन् । उनले लेखेका छन्, 'माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब खुशी हुनेगरी म भन्न चाहन्छु- “कमरेड माधव नेपाल दुई सय बर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”

भट्टराईकाे ११ बुँदे स्पष्टीकरण यस्तो छ:

१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।  

२. वहाँमा थुप्रै राम्रा गुणहरु छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन् र यो जारी रहने छ ।  

३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरुदेखि नै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौं । 

४. छैठौं महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन । 

५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।  

६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौं ।  

७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनुभयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।  

८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।  

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।  

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिव । वहाँ र मेरो बीचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएँ ।  

११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।  

पुनश्च: कमरेड माधव नेपालसँग सवाल-जवाफ गर्नु  मेरो मनसाय होइन ।

(२०७९ असार १३ गते बिहान काठमान्डौं-धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण)