काठमाडौँ । स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको आग्रहमा दुईजना मन्त्रीले असहमति जनाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर बुधबार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरूलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति पर्यटन मन्त्री प्रेम आले र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले असहमति जनाएका थिए ।
कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई 'पार्टीले मन्त्री फिर्ता बोलाउने निर्णय गरिसकेको छ, तपाइहरूले सहयोग गर्नुहोस्,’नेपालको यो निर्देशनलगत्तै सहरी विकास मन्त्री झाँक्रीले आपत्ति जनाएकी थिइन् ।
झाँक्रीले कोटेश्वरस्थित निवासभन्दा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो ।
कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपाल र मन्त्री झाँक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउनबाट रोकेका थिए ।
स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरूलाई नै निरन्तरता दिनु पर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’भन्दै मन्त्रीहरूको प्रस्ताव अस्वीकार गरेका थिए ।