काठमाडौं । मन्त्रिपरिषद् बैठकले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने भनी अमेरिकी सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।
‘मन्त्रिपरिषद् बैठकले एसपिपीमा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउने निर्णय गरेको छ,’ उनले भने ।
नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपिपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो ।
नेपाली राजनीति र सदनमा सो विषयलाई लिएर बहस भएको थियो ।