काठमाडौँ । सत्ता गठबन्धनको आज बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई अनुमोदन गर्दै कुनै सम्झौता नगर्ने सहमति जुटाएको छ । सोही बैठकमा मन्त्रीमण्डल पुनर्गठन तथा सर्वदलीय बैठक बोलाउने सहमति समेत भएको छ ।
आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुने तर, प्रधानमन्त्रीले कुनै समझदारी नगर्ने सहमति बनेको हो ।
प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने तर कुनै सम्झौता र समझदारी नगर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले पालिका खबरलाई बताए ।
अमेरिकी सैन्य रणनीति एसपीपी सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिएको छ ।
तर, आजै संसदीय समितिमा अनुपस्थित भएर प्रधानमन्त्री देउवाले त्यो निर्णय नमान्ने संकेत दिएका छन् । प्रधानमन्त्रीले त्यो सुझावलाई पालना नगर्न भ्रमण कार्यक्रमलाई गठबन्धनबाट अनुमोदन समेत गराएका हुन् ।
बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट फिर्ता बोलाएर नयाँ मन्त्री मन्त्री पठाउने पार्टी निर्णय कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो ।
साथै विवादित बनेको एसपीपी बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने निर्णय समेत भएको छ । बैठकमा सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए ।
नेताहरूको सुझावमा प्रधान देउवा सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका हुन् ।
नेताहरूका अनुसार एक दुई दिनभित्रै सर्वदलीय बैठक बोलाएर एसपीपीबारे छलफल गरेर वास्तविकता बाहिर ल्याइने छ ।
आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच भएको छलफलमा एसपीपीको अलावा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे समेत नेताहरूबिच सामान्य कुराकानी भएको थियो ।
समाजवादीका अध्यक्ष नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीकै नेता झलनाथ खनाल लगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता आइतबार प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए ।