close

अस्पताल भर्ना भएकी राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति

अस्पताल भर्ना भएकी राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति

Trulli
ADVERTISEMENT

काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।

बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा महिला, बालबालिका तथा कानुन मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।

उता स्वास्थ्यमा समस्या देखिएपछि राज्यमन्त्री वलीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका अनुसार उनको रक्तचाप र सुगरको मात्रा बढेको छ।

दाङको तुलसीपुरकी एक महिला र नाबालिकालाई घरमै पुगेर मन्त्री वलीले मंगलबार कुटपिट गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका-५ आलुमण्डीस्थित स्थानीय मीना भण्डारी बस्नेतको घरमा पुगेकी वलीले मीना र उनकी नाबालक छोरीलाई कुटपिट गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । तर, मुख्यमन्त्री कुलप्रसाद केसीको आग्रहमा प्रहरीले रातारात उनलाई बुटवल ल्याएको थियो ।

मुख्यमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्री वली बेहोस भएपछि अस्पतालमा भर्ना गरिएको बताएको छ । मुख्यमन्त्री कार्यालय र नेकपा माओवादी केन्द्रले वलीलाई मानसिक पीडा भएको उल्लेख गरेका थिए ।