काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले काँग्रेसको एकमना सरकार नभएकोले कुनै पनि कुरामा धेरै दाबी नगर्न कार्यकर्तासँग आग्रह गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले काँग्रेस नेता तथा कार्यकर्तासँग यस्तो आग्रह गरेका हुन् ।
‘यो काँग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझेर तपाईंहरूले धेरै दाबी गर्ने कुरा छैन ।’
प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने जानकारी गराएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री देउवाअघि बोलेका ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले काङ्ग्रेसकै नेतृत्वमा सरकार हुँदा आम श्रमिकलाई स्थापित गर्ने गरी कानुन आए पनि त्यो कार्यान्वयन नभएको बताएका थिए।