close

फोहोर व्यवस्थापनका लागि थापाले दिए ६ बुँदे सुझाव (सुझावसहित)

फोहोर व्यवस्थापनका लागि थापाले दिए ६ बुँदे सुझाव (सुझावसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौंका मेयर बालेन शाहको सक्रियतालाई प्रसंसा गर्दै ६ बुँदे सुझाव दिएका छन् । 

थापाले सामाजिक सञ्जालमार्फत् काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लाग झाँक्री र शाहलाई सो सुझाव दिएका हुन् । 

काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेकाले महानगरपालिकालाई सम्पूर्ण महानगरवासीले साथ दिनुपर्ने थापाको आग्रह छ ।

यस्ता छन्, थापाका सुझाव

१. शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल-बन्चरेडाँडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औँ सम्झौता हो। हरेक पटक सङ्कट परे पछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन। त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ।यो स्वाभाविक संशयलाई यो पटक सम्झौता अक्षरशः र भनेकै समय सीमा भित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ।

२. यसको लागि संघीय सरकारले गर्ने भनी निर्दिष्ट गरिएको काम यस पटक एक ठाँउमा पनि नचुकी भनिएकै समय भित्र गर्न शहरी विकास मन्त्रालय को निरन्तर तदारुकता जरुरी छ। सम्झौतामा लेखिएका केही काम शहरी विकास मन्त्रालय भन्दा अन्य मन्त्रालयको क्षेत्राधिकार भित्र पर्छ। ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ। खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ। कानुन बमोजिम तोकिए पछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ।

३. संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरण समेत गर्न काठमाडौं,धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेका छौँ। यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यान्वयन भए नभएको अनुगमन गर्ने छौँ, कहीँ अप्ठ्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झकझकाएर काम गर्न बाध्य बनाउने छौँ। समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्नेछ।

४. काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनी निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ। कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले का।म।न।पा। लाई सम्पूर्ण साथ दिनुपर्छ।

५.फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि का.म.न.पा.सँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ।

६.कामनपाले श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको छ। सम्पूर्ण महानगरबासीहरूले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ। कामनपाका सबै वडाहरूले किन्तु परन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिनाभरि आफ्नो बडाभित्र नगरवासीलाई सु-सूचित गर्ने लगायत को सम्पूर्ण तयारी गर्नुपर्छ।

यसरी हामी प्रत्येकले आजैबाट, अहिल्यैबाट आ-आफ्नो जिम्मामा परेका काम गर्दै गयौँ भने फेरी १७६ औँ पटक सम्झौता गर्नुपर्ने अवस्था आउँदैन। काठमाडौ फोहोरको संकटबाट मुक्त हुन्छ।