close

मधेशमा समृद्धिको आधार कृषि : मुख्यमन्त्री राउत

मधेशमा समृद्धिको आधार कृषि : मुख्यमन्त्री राउत

Trulli
ADVERTISEMENT

मधेश प्रदेशका मुख्यमन्त्री  लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिलाई मुख्य प्राथमिकतामा राखी समृद्धिको बाटो फराकिलो बनाउन आवश्यक छ भने । 

प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरण र सुविधा वृद्धि पहिलो आवश्यकता बनेको उहाँको भनाइ छ । समयमा मलखाद, बीउबिजन र सिँचाइको सुविधा पुर्‍याउन सके किसानको जीवनस्तरमा सुधार र मुलुकको आर्थिक उन्नतिमा टेवा पुग्ने चर्चा गर्दै उनले मलखाद समयमा नपाएर किसानले खेतीका बेला बर्सेनि रुने अवस्था दुःखदायी रहेको छ भने । 

“कृषि समृद्धिको मुख्य आधार भन्ने कुरामा सबै सहमत छौँ, तर मलखाद, बीउबिजन समयमा किसानलाई दिनसकेका छैनौँ”, मुख्यमन्त्री राउतले भने, “सङ्घीय सरकारले समयमा कृषि सामग्री उपलब्ध गराउन नसकेपछि अब यसको आपूर्तिको जिम्मा प्रदेश सरकारलाई दिनपर्छ ।” आफू कहिल्यै समयमा मलखादको प्रबन्ध गर्न नसक्ने र त्यो अभिभारा विकेन्द्रित पनि नगर्ने सङ्घीय सरकारको अड्डीले कृषि सामग्रीको आवश्यकता समयमा परिपूर्ति हुन नसकेको उनको भनाइ छ ।

“मधेश सरकारले प्रदेशभित्र यस्ता उद्योग खोल्न चाहनेलाई २० वर्षसम्म कर नलिने र जग्गा लिजमा उपलब्ध गराउने कानुन नै बनाएको छ”, मुख्यमन्त्री राउतले भने, “तर सङ्घ र प्रदेश सरकारबीच यसको समन्वय नहुँदा उद्यमी उत्साही हुनसकेका छैनन् ।” 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सीप अभिवृद्धि र उद्यम स्थापनामा आफ्नो संस्था सहयोगी रहने प्रतिबद्धता जनाए । सीप सिकाउने र युवालाई साना उद्यम सञ्चालन गर्न प्रेरित गर्ने कुरामा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने उनले बताए ।