काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
वैशाख ३० को स्थानीय चुनावमार्फत् महानगरको मेयर पदमा निर्वाचित शाहले बुधबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
यसअघि शाह र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको थियो ।
भेटका क्रममा प्रधानमन्त्री र शाहबीच काठमाडौंको फोहोर व्यवस्थापनबारे कुराकानी भएको प्रधानमन्त्री निवास बालुवाटारले जानकारी दिएको छ ।
भेटमा प्रधानमन्त्री देउवाले महानगरको फोहोर व्यवस्थापनका लागि जे–जे उपाय हुन्छ गर्न र आवश्यक परेका बेला सम्झन भनेका छन् ।
“तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु र पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ, मलाई चौबीसैघण्टा सम्झन सक्नुहुनेछ,” देउवाको भनाई थियो ।
त्यसैगरी शाहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।