रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले दुवै पदमा विजय हासिल गरेको छ ।
कोटहीमाई गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै पद लोकतान्त्रिक समाजवादी पार्टीले जितेको हो ।
पालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण त्रिपाठी र उपाध्यक्षमा पनि सोही पार्टीकी सुशीलाकुमारी यादव विजयी भइन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित त्रिपाठीले ४ हजार ६३८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाल जनता पार्टीका अशोककुमार जयसवालले ४ हजार २३९ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा निर्वाचित यादवले चार हजार ७३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार गुजराति यादवले ३ हजार ४४२ मत प्राप्त गरिन् ।
७ वडा रहेको कोटहीमाई गाउँपालिकामा वडा नं. १ को अध्यक्षमा लोसपाका राजेश तेली, वडा नं. २ मा जसपाका अमरनाथ यादव, वडा नं. ३ मा नेपाल जनता पार्टीका विष्णुप्रसाद पाण्डे, वडा नं. ४ मा लोसपाका वेचुराम गडेरिया, वडा नं. ५ मा लोसपाका सञ्जयकुमार सैनी, वडा नं. ६ मा जसपाका विनोद यादव र वडा नं. ७ को अध्यक्षमा नेपाली काँग्रेसका पवनकुमार यादव विजयी भएका छन् ।