चितवन । स्थानीय तहको विषयलाई लिएर भरतपुर महानगरपालिकामा गठबन्धनभित्रै विवाद सिर्जना भएको छ ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा माओवादीलाई भोट हालेर जिताएकाले यसपटक नगरप्रमुखको पद आफूहरूले पाउनुपर्ने भन्दै कांग्रेस नेता तथा कार्यकर्ताको असन्तुष्टि कारण भरतपुर महानगरमा विवाद सिर्जना भएको हो ।
निर्वाचन अयोगको तालिकाअनुुसार उमेद्वार मनोनयन समय अगाडिसम्म चितवन कांग्रेसका सभापतिले भरतपुर महानगर काग्रेसले पाउनुपर्ने अडान राख्दै आएका थिए । तर, नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनपछि जिल्ला सभापति राजेश्वर खनालले अडान फेरेका थिए ।
उनले प्रेस विज्ञप्ति जारी गरेर गठबन्धनलाई सहयोग गर्न अपिल गरी गठबन्धनविरोधी कार्य रोक्न निर्देशन दिए । तर, उनको अभिव्यक्तिप्रति कांग्रेस चितवनका कार्यकर्ताले विरोध गरेका छन् ।
के हो, भरतपुरमा विवाद सिर्जना हुनुको कारण ?
भरतपुर महानगरमा नेपाली कांग्रेसको तर्फबाट जगन्नाथ पौडेलले बागी उमेद्वार दिएपछि उनको उम्मेद्वारी फिर्ताका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेता लागिपरे । त्यसैगरी, गृहमन्त्री बालकृष्ण खाँण भरतपुरै आए । तर, उनी आफ्नो अडानबाट डगमगाएनन् । बरु गठबन्धनबाट उमेद्वार दिएकी रेणु दाहाललाई उमेद्वारी फिर्ता लिन कसरत गर्न उनले आग्रह गरे ।
यतिबेला उनको निवासमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।