काठमाडौं । नेपाली काग्रेसका नेता तथा प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरपालिका देशको राजधानी, सांस्कृतिक सहर भएकाले नेपाली कांग्रेसबाहेक अरू दलले नेतृत्व गर्न नसक्ने बताएका छन् ।
सत्ता गठबन्धनको काठमाडौं महानगरपालिकाकी मेयरकी उम्मेदवार सिर्जना सिंहको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रवक्ता महतले यस्तो बताएका हुन् ।
‘काठमाडौंलाई अन्तर्राष्ट्रियस्तरमा थप चिनाउन कांग्रेसले मात्रै नेतृत्व गर्न सक्छ । अरूले गर्न सक्दैन भन्ने कुरा हामीले गएको पाँच वर्षमा देखिसक्यौँ ।’
काठमाडौंमा सत्ता गठबन्धनबाट मेयरमा कांग्रेस नेतृ सिंह उम्मेदवार छिन् । उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन् ।
नेकपा एमालेको तर्फबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल उम्मेदवार छन् । यस्तै, स्वतन्त्र रुपमा मेयर पदमा बालेन्द्र शाहले पनि उम्मेद्वारी दिएका छन् ।
काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयर पदमा उठेकी सिर्जना सिंह नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी श्रीमती हुन् ।
राजनीतिमा नरहेकी सिंहलाई पहुँचका आधारमा मेयर पदमा उठाइएको भन्दै नेपाली कांग्रेसभित्रै आलोचना भइरहेको छ ।