स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको सत्ता गठबन्धनका दलसँग चुनावी तालमेलका विषयमा बहस चर्किएको छ । तर, शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले कांग्रेस नेताले तालमेलको पक्षमा भनाई राखेका छन् ।
तालमेलको पक्षमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र देउवा पक्षधर केन्द्रिय सदस्यहरु छन् । देउवासँग केन्द्रियसमितिको बहुमत सदस्य रहेको छ ।
आजको बैठक निर्णायक मानिएको छ । स्थानीय तहको निर्वाचनमा जाने मोडललाई आजको बैठकले अनुमोदन गर्नेछ ।
नेताहरुका अनुसार तालमेलको मोडालिटी बनाउँदा कांग्रेसले अघिल्लो निर्वाचनमा पाएको मतभारलाई प्रमुख आधार बनाउनेछ । २०७४ सालको निर्वाचनमा गठबन्धनका दलमध्ये आफू पहिलो स्थानमा रहेको पालिकाको मूल नेतृत्वमा कांग्रेसले दाबी गर्नेछ ।
चितवन र एमालेसँग तालमेल
ठाउँ विशेष नेकपा एमालेसँग पनि तालमेल गर्नेबारे समेत बैठकमा कुरा उठेको छ । यद्यपि एमालेसँग तालेमलबारे देउवा सकारात्मक छैनन् ।
उता, चितवनको भरतपुर महानगरको बहस पनि कांग्रेसभित्र चुलिएको छ । २०७४ को निर्वाचनमा कांग्रेसको समर्थन पाएर माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मेयर जितेकी थिइन् । तर यो पटक भरतपुर महानगर कुनै हालतमा छाड्न नहुने दबाव नेताहरुको छ । बरु संघीय सांसदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्न सकिने तर महानगर माओवादीलाई दिन नसकिने बताएका हुन् ।
बैठकमा केन्द्रिय सदस्यहरुले निर्णय अधिकार विकेन्द्रिकरण हुनुपर्ने तर्क राखे । यसो गर्दा पार्टीले तोकेको उम्मेदवारलाई घात हुने अवस्था कम हुने उनीहरुको तर्क छ ।