close

काठमाडौंमा सार्वजनिक शौचालय बनाउनै सकस : महानगर प्रमुख शाक्य

काठमाडौंमा सार्वजनिक शौचालय बनाउनै सकस : महानगर प्रमुख शाक्य

Trulli
ADVERTISEMENT

काठमाडौं–काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित बस बिसौनी छेउ आधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । एरोसानसँगको सहकार्यका निर्माण गरिएको शौचालयको महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

 


पुरानो टिकट काउन्टर भएको ठाउँमा शौचालय निर्माण गरिएपछि बसबाट झर्ने र चढने यात्रुले सुविधा पाउनेछन् । कार्यक्रममा शाक्यले दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा प्रतिबद्ध रहेको बताए । ‘सहरमा सार्वजनिक शौचालय चाहिन्छ भन्ने माग छ तर आफ्नो नजिक नबनाइदिनू भन्ने सर्त हुन्छ । त्यसैले हामीले काम गर्दा विवाद आउला कि, काम रोकिएला कि भनेर डराउनुपर्छ,’ शाक्यले भने, ‘सार्वजनिक शौचालय बनाउनै गाह्रो छ ।’ घना बस्तीबीच दुर्गन्धरहित शौचालय बनाइनुपर्छ ।’


महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नमुना कामलाई विस्तार गरिँदै लगिने जानकारी दिइन् । ‘यो ठाउँमा सार्वजनिक शौचालय बनाउन नदिन विभिन्न खाले दबाब आएका थिए । धेरै मान्छेलाई नभई नहुने भएपछि दबाब झेलेरै पनि काम गरेका हौँ,’ उनले भिनन् । वडा नम्बर ११ का वडाध्यक्ष एवं विधायन समिति संयोजक हीरालाल तण्डुकारले विगतमा नबनाउन दबाब दिनेलाई नै अहिले ठीक काम भएको महसुस भएको उल्लेख गरे ।

 


एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यले शौचालयमा बायोडाइजेस्टरसहित सबै प्रणाली जडान गरिएको जानकारी दिए । ‘वातावरणमैत्री सार्वजनिक शौचालय बनाउन ठाउँ कम भएर बाधा हुँदैन,’ उनले भने, ‘यो नमुना काम भयो ।’ ५ सय स्क्वायर फिटमा निर्माण भएको शौचालयमा पुरुष युरिनल ४ वटा, क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी शौचालय छ ।

 

भवनबाट अकासे पानी संकलन गरेर प्रशोधन र प्रयोग गर्न सकिन्छ । महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री हुने गरी स्वचालित प्रविधिमा आधारित सुविधा राखिएको अमात्यले जानकारी दिए । शौचालयमा महिलालाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रविधिबाट पानी र झोल साबुन आउने प्रविधि, हात सुकाउने मेसिनजस्ता सुविधा जडान गरिएका छन् ।


काठमाडौं महानगरले सार्वजनिक शौचालयको पहुँच बढाउन यो वर्ष व्यवसायीसँग मिलेर अघि बढ्ने नीति बनाएको छ । उनीहरूले आफ्नो प्रयोजनका लागि सञ्चालन गरेको शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिएबापत यो वर्ष व्यवसायीले व्यवसाय करमा ५० प्रतिशत छुट पाउनेछन् । प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय बनाउने नीति महानगरको छ ।