close

राष्ट्रिय सभा निर्वाचन : ३ वटा प्रदेशका ११ जनप्रतिनिधि अनुपस्थित 

मधेस प्रदेशमा ६ जनप्रतिनिधि अनुपस्थित 

राष्ट्रिय सभा निर्वाचन : ३ वटा प्रदेशका ११ जनप्रतिनिधि अनुपस्थित 

मधेस प्रदेशमा ६ जनप्रतिनिधि अनुपस्थित 

Trulli
ADVERTISEMENT

काठमाडौं– १९ सिटका लागि भइरहेको राष्ट्रिय सभा निर्वाचनमा अधिकांश स्थानमा मतदान सकिएको छ । स्थानीय निकायका जनप्रतिनिधिले समेत मत दिन पाउने व्यवस्थाअनुसार ७ वटै प्रदेश मुकाममा मतदान भइरहेको छ । ५ दलीय सत्तारुढ गठबन्धन र प्रतिपक्षी एमाले उम्मेदवारको भाग्यको फैसला हुने यो निर्वाचनमा केही प्रदेशमा भने जनप्रतिनिधिले भोट हालेनन् ।


निर्वाचनको आयोगको पछिल्लो तथ्यांकअनुसार प्रदेश १ को राष्ट्रियसभा सदस्य निर्वाचनमा ३ जना जनप्रतिनिधि उपस्थित भएनन् ।
प्रदेशमा ९२ प्रदेश सांसद र २७२ स्थानीय पालिका प्रमुख÷उपप्रमुख छन् । तीमध्ये ३ जना अनुपस्थित भएका हुन् । प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारीका अनुसार २७० पालिका प्रमुख, उपप्रमुख र ९१ सांसदले मतदान गरेका छन् । मतदान सकिएलगत्तै गणना सुरु गरिने उनले जानकारी दिए ।


विराटनगर महानगरकी उपप्रमुख इन्दिरा कार्की, झापाको गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र प्रदेश सांसद गुलेफुन खातुन मतदानमा अनुपस्थित भएका हुन् । उपप्रमुख कार्की बिरामी छन् । खातुन फौजदारी मुद्दाका फरार प्रतिवादी हुन् । श्रेष्ठ भने छोरीको विवाहका लागि काठमाडौंमा छन् ।

 

निर्वाचन कार्यालयले खुलातर्फ, महिलातर्फ र अल्पसंख्यक वा अपांगता कोटाका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिएको छ । प्रदेश १ मा ३ पदका लागि ८ जना चुनावी मैदानमा छन् । सत्तारुढ गठबन्धनबाट खुलातर्फ कांग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसंख्यक वा अपांगता कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई छन् ।


एमालेबाट खुलातर्फ मोरङका गुरु बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन् । राप्रपाका तर्फबाट झापाका अमरबहादुर विष्टले खुला र रञ्जु प्याकुरेल महिलातर्फ उम्मेदवार छन् ।

 

मधेस प्रदेशमा ६ जनप्रतिनिधि अनुपस्थित 

 

राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् । जनकपुरधामस्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

 

उनका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् । २ प्रदेश सांसद, दुई नगरप्रमुख र २ जना उपप्रमुखले मतदान नगरेको उनले बताए ।


प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल महिला समूहमा र जनता समाजवादी पार्टी (जसपा) बाट मोहम्द खलिद सिद्दिकीले अन्य समूहमा उम्मेदवारी दिएका छन् ।


यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महिला समूहमा रुपाकुमारी यादव र एमालेबाट अन्य समूहमा उस्मान अन्सारीले उम्मेदवारी दिएका छन् । लोसपा र एमालेले चुनावी गठबन्धन बनाएका छन् । मधेस प्रदेशमा निर्वाचन सम्पन्न भएलगत्तै अहिले गणना भइरहेको निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

 

कर्णालीमा २ अनुपस्थित


राष्ट्रिय सभा सदस्य चयनका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ । प्रदेशमा ९८.९५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यलयले जनाएको छ ।


३ सिटका लागि कर्णालीमा भएको मतदानमा १९१ मतदातामध्ये १८९ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्य १ र पालिका उपप्रमुख १ जना मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् ।

 

उनका अनुसार स्थानीय तहअन्तर्गत ९९.३५ प्रतिशत मत खसेको छ भने प्रदेशसभातर्फ ९७.१४ प्रतिशत मत खसेको छ । राप्रपाबाट निर्वाचित प्रदेशसभा सदस्य सुशीला शाही र कालीकोट तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली मतदानमा अनुपस्थित भएका हुन् ।
आफ्ना पार्टीका उम्मेद्वार नभएकाले मतदानमा सहभागी नभएको शाहीले बताइन् । पार्टीको ह्वीपअनुसार तटस्थ बसेको उनको भनाइ छ । 
उपप्रमुख नेपाली झन्डै ३ वर्षदेखि अमेरिकामा छन् । यसअघिको राष्ट्रिय सभा निर्वाचनमा समेत सहभागी भएकी थिइनन् । 


कर्णाली प्रदेशमा प्रदेश सदस्य र स्थानिय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षसहित १९१ जना मतदाना छन् । स्थानीय तहका १५६ र प्रदेशसभा सदस्य ३५ जना छन् । प्रदेशमा जम्म मतभार ४४ सय ८८ छ ।


प्रदेश राजधानी वीरेन्द्रनगरस्थित निर्वाचन कार्यालय परिसरमा बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको छ । प्रदेशमा ३ सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धन र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा छ ।


गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (जुम्ला), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र नेकपा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) उम्मेदवार रहेका छन् । गुरुङ महिलाबाट, विष्ट अपांगताबाट र बोहराले अन्यबाट उम्मेदवारी दिएका हुन् । त्यस्तै, एमालेबाट सुर्खेतका चुडामणि शर्मा (खुला), जुम्लाकी गंगा महत (महिला) र दैलेखका पदमबहादुर माझी ( अल्पसंख्यक) उम्मेदवार रहेका छन् ।  कर्णालीमा पनि ४ बजेटबाट मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले बताए ।