close

जनकपुर प्रदेश २ को स्थायी राजधानी 

जनकपुर प्रदेश २ को स्थायी राजधानी 

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकिएको छ । सोमबार भएको मतदानमा प्रदेशसभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

 

सभामुख सरोजकुमार यादवले प्रदेशसभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइभन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे ।

 

दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत ०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन । स्थायी राजधानीको टुंगो लगाएसँगै प्रदेशसभाको बैठक एक घन्टाका लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयका अनुसार सोमबार नै प्रदेशको नामसम्बन्धी प्रस्ताव अगाडि बढाउने तयारी छ ।

 

प्रदेश २ को राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि सुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी ३ वटा बनाएको थियो ।

 

जनकपुर दुई तिहाइ बहुमत मतले पारित भएको हो । प्रस्तावअनुसार अब प्रदेश २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केबर पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुनेछ ।

 

वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सिमाना र वीरगञ्ज महानगरपालिकाभरिलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि आएको थियो ।