उदयपुर– नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन १ करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ ।
नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरी आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताए । कोषका लागि जिल्लाका प्रत्येक सदस्य र अन्य दाताबाट समेत सङ्कलन गरिने जनाइएको छ ।
माघ मसान्तभित्र नै यो अभियान सञ्चालन गरिने अध्यक्ष घिमीरेले बताए । पार्टीलाई सुदृढ बनाउन पनि सो अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ । विसं २०७९ भित्र जिल्लामा पार्टीको साधारण सदस्यको सङ्ख्या तीस हजार पुर्याइने र जिल्लामा एक घर एक सदस्य अभियान अगाडि बढाइएको उनले बताए ।