close

राष्ट्रिय सभा निर्वाचन : कसले मार्ला बाजी

राष्ट्रिय सभा निर्वाचन : कसले मार्ला बाजी

Trulli
ADVERTISEMENT

काठमाडौं– १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धन वा प्रतिपक्षी एमाले कसले जित्ला बनेर अंकगणित सुरु भएको छ । ७५३ वटै स्थानीय तह र ७ वटै प्रदेशसभा सचिवालयबाट प्राप्त तथ्यांकअनुसार सत्ता गठबन्धन सबै प्रदेशमा अगाडि देखिएको छ । प्रदेश १ मा भने गठबन्धन र एमालेको मतभार थोरै फरक छ । 


निर्वाचनमा प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मतदाता हुन्छन् । २ हजार २५ कुल मतदाता छन् । प्रदेश सांसदको ४८ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १८–१८ हुन्छ । १९ सिटका लागि हुने निर्वाचनमा ९ दलका ४३ उम्मेदवार मैदानमा छन् ।  


प्रदेश १ मा कुल मतभार ९,३१२ छ, जसमा गठबन्धनको ४ हजार ६ सय ३८ र एमालेको ४ हजार ५ सय ६ मतभार छ । यहाँ अन्य दलको मतभार १ सय ६८ छ । यसमध्ये राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदेशसभामा एक–एक सिट छ । स्थानीय तहमा राप्रपाको ४ सिट छ ।


प्रदेश १ मा महिलातर्फ एमालेबाट सुमित्रा भण्डारी, गठबन्धनबाट एकीकृत समाजवादीकी जयन्ती राई र राप्रपाबाट रञ्जु प्याकुरेलको उम्मेदवारी परेको छ । अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा र गठबन्धनबाट जसपाका हेमराज राईको उम्मेदवारी छ । अन्यतर्फ एमालेका गुरु बराल, गठबन्धनका तर्फबाट कांग्रेसका गोपालकुमार बस्नेत र राप्रपाका अमरबहादुर विष्टले उम्मेदवारी दिएका छन् ।  प्रदेश २ मा भने सत्ता गठबन्धन बहुमतले अगाडि छ । गठबन्धनको मतभार ७ हजार ३ सय २ रहेको छ । एमालेको मतभार ९ सय ६ छ । अन्य दलको मतभार १ हजार ६ सय ८ रहेको छ । प्रदेश २ मा कुल मतभार ९,८१६ छ । 

 

प्रदेश २ मा महिलातर्फ एमालेकी बिना देवी, गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र लोसपाबाट रूपाकुमारी यादवको उम्मेदवारी परेको छ । अन्यतर्फ एमालेका उसमान अन्सारी र गठबन्धनबाट जसपाका महमद खालिदको उम्मेदवारी छ ।

 

९,४९८ कुल मतभार रहेको बागमतीमा पनि गठबन्धन अगाडि छ । गठबन्धनको मतभार ४ हजार ९५६ छ । एमालेको मतभार ४ हजार १३४ रहेको छ । यो प्रदेशमा अन्य ४०८ मत रहेको छ । 

 

बागमतीमा महिलातर्फ एमालेबाट नीरकुमारी कुँवर (निरु दर्लामी), गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र नेमकिपाबाट गीता काफ्लेको उम्मेदवारी परेको छ । त्यस्तै, अन्यमा एमालेका गोपाल शाक्य, गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र नेमकिपाका कृष्णबहादुर तामाङको उम्मेदवारी छ । तामाङ गत जेठमा भएको राष्ट्रिय सभाको उपचुनावमा पनि प्रतिस्पर्धामा थिए ।

 

गण्डकीमा गठबन्धनको मतभार ३ हजार २३४ रहेको छ । एमालेको मतभार २ हजार ५३८ रहेको छ । अन्य दलको मतभार १२० मात्रै छ । त्यसकारण यहाँ पनि एमालेले गठबन्धनलाई जित्ने सम्भावना छैन ।

 

गण्डकीमा कुल मतभार ५,८९२ छ । गण्डकीमा महिलातर्फ एमालेबाट लीला पोखरेल थनेत र गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्तले उम्मेदवारी दिएका छन् । त्यस्तै, दलितर्फ एमालेका अर्जुनकुमार सुनाम र गठबन्धनबाट माओवादी केन्द्रका भुवनबहादुर सुनुवारको उम्मेदवारी छ । अन्यतर्फ एमालेका पुण्यप्रसाद पौडेल र गठबन्धनबाट माओवादी केन्द्रका सुरेश आलेमगरको उम्मेदवारी परेको छ ।

 

कुल मतभार ७,७५८ रहेको लुम्बिनी प्रदेशमा गठबन्धन ९७२ मतले अगाडि छ । गठबन्धनको मतभार ४ हजार २७८ रहेको छ । एमालेको मतभार ३ हजार ३०६ रहेको छ । अन्य दलको मतभार १७४ छ । लुम्बिनीमा महिलातर्फ एमालेबाट भारती उपाध्याय खनाल र गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेको उम्मेदवारी छ । दलिततर्फ एमालेका कृष्ण सुनार र गठबन्धनका तर्फबाट जनमोर्चाका तुलप्रसाद विश्वकर्माको उम्मेदवारी परेको छ ।

 

अन्यमा एमालेको तर्फबाट रामदयाल गुप्ता र गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा उम्मेदवार छन् । कर्णाली प्रदेशमा गठबन्धन १ हजार ३३८ मतले अगाडि छ । यहाँ गठबन्धनको मतभार २ हजार ८०८ रहेको छ । एमालेको मतभार १ हजार ४७० रहेको छ । अन्य दलको मतभार २१० मात्रै छ । कर्णालीमा कुल मतभार ४,४८८ छ । 

 

कर्णाली प्रदेशमा महिलातर्फबाट एमालेकी गंगा थापा महत र गठबन्धनका तर्फबाट कांग्रेसकी दुर्गा गुरुङको उम्मेदवारी परेको छ । त्यस्तै, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकमा एमालेका पदमबहादुर माझी र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरबहादुर विष्टको उम्मेदवारी छ ।

 

अन्यमा एमालेका चूडामणि शर्मा र गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहराको उम्मेदवारी छ । कुल ५६,४६ मतभार रहेको सुदूरपश्चिम प्रदेशमा गठबन्धन दोब्बर मतले अगाडि छ । गठबन्धनको मतभार ३ हजार ७९२ रहेको छ । 

 

एमालेको मतभार १ हजार ८०६ मात्रै रहेको छ । अन्य दलको मतभार ४८ छ । यहाँ लोसपाका एक मात्र सांसद छन् । सुदूरपश्चिम प्रदेशमा महिलातर्फ एमालेकी सन्तोषकुमारी शर्मा र एकीकृत समाजवादीकी मदनकुमारी शाहको उम्मेदवारी छ । दलिततर्फ एमालेका नरेशकुमार विक र गठबन्धनबाट माओवादी केन्द्रका जगतबहादुर पार्कीको उम्मेदवारी परेको छ ।

 

अन्यमा एमालेका डिल्लीराज भट्ट र गठबन्धनका तर्फबाट कांग्रेसका नारायणदत्त मिश्रको उम्मेदवारी छ । गत आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन आयोगले दलहरूलाई निर्वाचन चिह्नसमेत दिइसकेको छ । गत २० पुसमा परेको उम्मेदवारीमा कसैमाथि पनि उजुरी परेन र उम्मेदवारी पनि फिर्ता भएको थिएन । निर्वाचनका लागि सोमबारबाट निर्वाचन आचारसंहिता लागू भइसकेको छ ।

 

राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बिदा हुँदै छन् । यीमध्ये एमालेका ८, माओवादी र एकीकृत समाजवादीका ४–४, कांग्रेसका ३ र मनोनीत एक सांसद छन् । २० मध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ । 

 

२० फागुनमा कार्यकाल सकिने माननीय

प्रदेश १ मा अगमप्रसाद बान्तवा राई, नैनकला ओझा, परशुराम मेघी गुरुङ (सबै एमालेका)
प्रदेश २ : सुमनराज प्याकुरेल (एमाले), शशिकला दाहाल (माओवादी)
बागमती : राधेश्याम अधिकारी (कांग्रेस), उदया शर्मा पौडेल (एकीकृत समाजवादी)
गण्डकी : दीनानाथ शर्मा र खिमकुमार विक (माओवादी), शान्तिकुमारी जिसी (एकीकृत समाजवादी)
लुम्बिनी : कोमल वली र रामलखन चमार (एमाले), दृगनारायण पाण्डे (कांग्रेस)
कर्णाली : कविता बोगटी (एमाले), जीवन बुढा (माओवादी), ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी)
सुदूरपश्चिम : चक्रप्रसाद स्नेही (एमाले), तारादेवी भट्ट (कांग्रेस), शेरबहादुर कुँवर (एकीकृत समाजवादी)
मनोनीत : रामनारायण बिडारी