close

एमाले जिल्ला अधिवेशनको परिणाम सार्वजनिक हुँदै

एमाले जिल्ला अधिवेशनको परिणाम सार्वजनिक हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं–नेकपा एमालेको ६३ जिल्लामा भएको जिल्ला अधिवेशनको परिणाम सार्वजनिक हुन थालेको छ । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । एमाले भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनले बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । 


शनिबार भएको अधिवेशनले उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समिति सयोजक शिवराम तिमल्सिनाले बताए । बन्दसत्रबाहिर बसेको केन्द्रीय नेतासमेतको टोलीले छलफल गरी तय गरेर ल्याएको नाम एमाले पोलिटब्युरो सदस्य एवं बन्दसत्रका अध्यक्ष महेश बस्नेतले नाम पढेर सुनाएका थिए ।


उक्त नाममा कसैले विरोध नगरेपछि सर्वसम्मत भएको बन्दसत्रमा सहभागी एक नेताले बताए । जिल्ला अध्यक्षमा बागमती प्रदेशसभा सदस्य शशिजंग थापा र सचिवमा मदनसुन्दर श्रेष्ठले दाबी गर्दै आए पनि बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्यूरो सदस्य बस्नेत, एमाले केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, प्रदेश सदस्य राजेन्द्र राजथलालगायतको प्रयासबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

 

गुल्मीमा बालसिङ काउछा सर्वसम्मत

एमाले गुल्मीको अधिवेशनबाट जिल्ला अध्यक्षमा बालसिङ काउछा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार अबेर सकिएको एमालेको ११औँ गुल्मी अधिवेशनबाट उपाध्यक्षमा कृष्ण सुनार चयन भए । सचिवमा गणेश श्रीपाली, उपसचिवद्वयमा धर्म विश्वकर्मा र सावित्रा आचार्य चयन भए । अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको छ । गुल्मी अधिवेशनका लागि एमाले नेता प्रदीप ज्ञवाली पनि जिल्ला पुगेका थिए ।

 

गोरखामा प्रेम गुरुङ 
एमाले गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट गुरुङसहित जिल्ला कमिटीमा ६३ जना सर्वसम्मत चयन भए । उपसचिव र अन्य सदस्यमा आइतबार निर्वाचन हुँदै छ । गुरुङ यसअघि पनि गोरखा अध्यक्ष थिए ।  उपाध्यक्षमा कृष्ण नेपाली र सचिवमा काजिराम रोका सर्वसम्मत चयन भएका छन् । नेपाली यसअघि जिल्ला कमिटीमा सचिव थिए । उपसचिवमा सुरेश श्रेष्ठ, विशाल थापा र राजन गुरुङको उम्मेदवारी परेपछि निर्वाचन गर्ने तयारी छ ।

 

तनहुँमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत

एमाले तनहुँको अधिवेशनबाट अध्यक्ष पदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए । शनिबार अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक शिवदत्त ढकालका अनुसार अध्यक्षबाहेक अन्य पदमा आवश्यकताभन्दा धेरै संख्यामा उम्मेदवारी परेको छ । उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी परेको उनले जानकारी दिए । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी परेको छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी परेको हो । आइतबार दिउँसोदेखि मतदान गर्ने तयारी छ ।

 

एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल
एमाले अर्घाखाँचीको आठौँ अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका भुसालको बाहेक अन्यको उक्त पदमा दाबी नरहेपछि सर्वसम्मत अध्यक्ष भएका हुन् । यसअघि अध्यक्ष पदमा आकांक्षा देखाएका जीवनारायण कोइरालाले भुसाललाई नै समर्थन गरेर उम्मेदवारी नदिने सहमति जनाएपछि भुसाललाई अध्यक्ष हुन सहज भएको हो ।

 

एमाले कपिलवस्तु अध्यक्षमा डम्बर शर्मा 

एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मत ल्याउँदै शर्मा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धीद्वय बाबुराम खनालले १८६ र नेत्र अधिकारीले १ सय मत प्राप्त गरे ।

 

पाल्पामा घिमिरे 
एमाले पाल्पाको जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनिता शर्मा चयन भएका छन् । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

 

एमाले बैतडीको उपाध्यक्षमा बम 
एमाले) बैतडी जिल्ला कमिटी उपाध्यक्षमा रमिल बम चयन भएका छन् । उपाध्यक्ष पदमा उम्मेदवारी दिएका अर्का उमेदवार भरतसिंह महराले उम्मेदवारी फिर्ता लिएपछि बम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पार्टीको जिल्ला पदाधिकारीका लागि अध्यक्षका उम्मेदवारद्वय सुरेन्द्र पाल र गोरखबहादुर चन्दले प्यानल सहित उम्मेदवारी दर्ता गराएका थिए । पाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार बम निर्वाचित भएका हुन् ।

 

एमाले रूपन्देहीमा केसी निर्विरोध
एमाले रूपन्देहीको नवौँ जिल्ला अधिवेशनबाट तेजेन्द्र केसी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमाले नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेशका १२ मध्ये १० जिल्लामा अधिवेशन भएकामा ७ जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो । रूपन्देहीको जिल्ला उपाध्यक्षमा जागेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैरे र उपसचिवद्वयमा चित्रबहादुर कार्की र हितराज पन्थी सर्वसम्मत चुनिए । 

 

एमाले प्रचार विभागका अनुसार हालसम्म विभिन्न जिल्ला अधिवेशनबाट जिल्लाको नेतृत्व चयन गर्ने क्रम जारी छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आइतबार बिहान ७ बजेसम्म २० जिल्ला र २ विशेष जिल्ला कमिटीको परिणाम आएका छन् । रिजालका अनुसार हालसम्म झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा, नवलपरासी (पश्चिम) र कपिलवस्तु तथा विशेष जिल्ला कमिटीबाट मजदुर विशेष र पेसागत विशेषको नेतृत्व चयन भएको हो ।

 

झापामा दीपक कार्की, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी अध्यक्षमा चयन भएका छन् । यस्तै, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, खोटाङमा रामप्रसाद दंगाल, सप्तरीमा ताराकान्त चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटा इन्द्रमणि पराजुली निर्वाचित भएका छन् । यस्तै, रसुवामा कर्णेल लामा, नवलपरासी (पश्चिम) मा दीपेन्द्र अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् ।