close

संसद् गतिरोध अन्त्य गर्न ओली भेट्दै प्रधानमन्त्री देउवा

संसद् गतिरोध अन्त्य गर्न ओली भेट्दै प्रधानमन्त्री देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं–संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने भएका छन् । बालुवाटारमा बसेको राजनीतिक समन्वय समितिको बैठकले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीलाई भेटेर संवाद गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको हो । ‘एक÷दुई दिनमा प्रधानमन्त्रीले ओलीलाई भेट्नुहोला,’ बैठकमा सहभागी एक नेताले भने, ‘संसद्को गतिरोध अन्त्य गर्न निर्णायक पहल लिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।’


संसद्को गतिरोध अन्त्य गर्ने जिम्मेवारी सरकारको जस्तै प्रमुख प्रतिपक्षी दलको पनि रहेको बैठकमा सहभागी सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘संसद्को गतिरोध अन्त्य गर्ने जिम्मेवारी सरकारको जस्तै प्रमुख प्रतिपक्षीको पनि हो,’ उनले भने, ‘गतिरोध अन्त्यका लागि पहल गर्ने कुरा भएको छ ।’


गठबन्धनका नेताहरूले संसद सुचारु गर्न प्रतिपक्षी नेता ओलीसँग प्रधानमन्त्री देउवाले कुराकानी गर्नुपर्ने धारणा बैठकमा राखेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको समन्वय समितिको बैठक बिहीबार र शुक्रबार बालुवाटारमा बसेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत समन्वय समितिका ११ नेता सहभागी थिए ।


एमालेले लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ । आफूहरूले कारबाही गरेका सांसदलाई सभामुखले कारबाही भएको सूचना टाँस नगरेको भन्दै एमाले असन्तुष्ट छ । संसदको गतिरोध अन्त्य गर्न कांग्रेस नेता पौडेलले हालै बालकोट पुगेर ओलीसँग आग्रह गरेका थिए । मन्त्री कार्कीले बालकोट पुगेर पटक–पटक संसदको गतिरोध अन्त्य गर्न ओलीसँग आग्रह गरिरहेका छन् ।