close

वैशाख १४ मा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

वैशाख १४ मा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

Trulli
ADVERTISEMENT

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरे ।

 

खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने र मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँमा प्रभावित नपार्ने भएकाले एकैदिन र एकै चरणमा निर्वाचन गर्नु उपयुक्त हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने आयोगले बताएको छ ।

 

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरुको पदावधि ५ जेठमा समाप्त हुनेछ । संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएपनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । साथै कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानूनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ । जवाफमा प्रधानमन्त्री देउवाले दलहरुसँग छलफल गरेर आयोगको प्रस्ताव अघि बढाउने बताएका छन् ।