काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य अल्पसङ्ख्यक (खुला) एक पदमा प्रदीपकुमार सुनुवार निर्वाचित भएको छन् ।
गत मङ्सिर २७ गते भएको मतदानको साेमबार सार्वजनिक मत परिणामअनुसार सुनुवार दुई हजार १७१ मतका साथ निर्वाचित भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले एक हजार २३ मत प्राप्त गरेका छन् ।
सोही पदमा रहेका अन्य उम्मेदवार हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा (मारवाडी) ५३६ र प्रेमबहादुर छन्त्यालले २०६ मत प्राप्त गरेको समितिले जनाएको छ । मतदानमा चार हजार ६३५ मत खसेकामा ९० मत बदर भएको थियो ।
महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ ।