भक्तपुर– नेकपा एमालेको भक्तपुर जिल्ला इन्चार्जमा चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र नियुक्त भएका छन् । नगरप्रमुख मिश्रलाई एमाले स्थायी कमिटी बैठकले जिल्ला इन्जार्जमा नियुक्त गरेको हो । भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम हस्पिटालिटीमा एमाले बैठक बसेको थियो ।
२५ र २६ मंसिरसम्म बसेको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनदेखि, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, सह–इन्चार्ज र नेताहरूको कार्य विभाजनलगायत एजेन्डामा छलफल भएको छ । बैठकबाट नगर प्रमुख मिश्रलाई इन्चार्ज र युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतलाई पोलिटब्युरो सदस्यमा नियुक्त गरिएको छ । दुई दिने बैठकमा एमाले स्थायी कमिटी सदस्यको सहभागिता थियो । बैठकमा सहभागीलाई मध्यपुर थिमि नगरपालिका र जिल्ला कमिटीले भादगाउँले टोपी र दही वितरण गरी स्वागत गरिएको थियो । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार नगरपालिकाका तर्फबाट योमरी र नगरको परिचय दिने ब्रोसर वितरण गरियो ।
बैठकमा नगरप्रमुखले मुलुकभरका सबै एमाले जिल्ला प्रतिनिधि सहभागी भएकाले भक्तपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ती सामग्री वितरण गरिएको बताए ।
सहभागीलाई गन्तव्य मध्यपुर थिमि, महिलाका लागि रातो पछ्यौरा, पुरुषका लागि भादगाउँले टोपी, भक्तपुरको जुजु धाँ र योमरी वितरण गरिएको उनले जानकारी दिए ।