close

एमालेले  फागुन मसान्तभित्र सबै जनवर्गीय संगठनको महाधिवेशन गर्ने

माघ र फागुन महिनामा पार्टी विस्तार र पार्टी प्रवेश अभियान सञ्चालन गरिने

एमालेले  फागुन मसान्तभित्र सबै जनवर्गीय संगठनको महाधिवेशन गर्ने

माघ र फागुन महिनामा पार्टी विस्तार र पार्टी प्रवेश अभियान सञ्चालन गरिने

Trulli
ADVERTISEMENT

काठमाडौं–  नेकपा (एमाले) ले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन सक्न निर्देशन दिएको छ । एमालेको भक्तपुरमा जारी रहेको दोस्रो केन्द्रीय कमिटी बैठकले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन र राष्ट्रिय सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

 

बैठकको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दशौँ  राष्ट्रिय महाधिवेशनले पार्टीलाई ऊर्जा, नयाँ शक्ति र नयाँ उत्साह भरेको उल्लेख गर्दै त्यो उत्साहलाई समाजको अग्रगामी रूपान्तरणका लागि प्रयोग गर्न सिङ्गो पार्टी परिचालन गर्नका लागि सबै सदस्यलाई आह्वान गरेको उपमहासचिव ज्ञवालीले बताए । 

 

अध्यक्ष ओलीले मुलुकमा दुई वटा विचारको प्रतिस्पर्धा रहेको भन्दै भने, ‘एउटा धारले विस्तारै विस्तारै प्रतिगमनको आधार निर्माण गर्दै गरेको र अर्को पक्षले समाजवादको आधार निर्माण गर्दै गइरहेको छ । यी दुई पक्षबीच क्रमशः धुव्रीकरण हुँदै आएको छ ।’ एमालेले समाजवादको आधारमा निर्माण गर्ने गरेको र त्यसलाई विभिन्न षड्यन्त्रले अवरुद्ध पार्ने काम भइरहेको अध्यक्ष ओलीले बैठकमा बताउनुभएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । 

 

बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको छ । यस्तै बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरालाई चयन गरेको छ । बोहराले शनिबार नै सपथ लिएका छन् । महाधिवेशन  भव्यताका साथ सम्पन्न भएको र यसले मुलुकलाई नयाँ दिशानिर्देश र पार्टीलाई सबल बनाएको बैठकले निष्कर्ष निकालेको उनले बताए । 

 

महाधिवेशन पश्चात् पार्टी नीतिगत रूपमा थप स्पष्ट र सही ढङ्गले दिशानिर्देशित भएको निष्कर्ष निकाल्दै अब सङ्गठनात्मक रूपमा थप सुदृढ र व्यवस्थित भएको निष्कर्ष निकालेको छ । बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ सम्पन्न गर्ने निर्णय गरेको छ । विधानमा आवश्यक सम्पादन गर्न र पार्टीको नियमावली संशोधन गर्नका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय सदस्य खगराज अधिकारी र रमेश बडाल रहेको कार्यदल बनाइएको उनले जानकारी दिए । कार्यदलले एक हप्ताभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको छ । 

 

पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने 

 

पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने निर्णय गरिएको छ । उनले पाँच वर्षका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यालय सार्ने र सो अवधिभित्र बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको जग्गामा नयाँ भवन बनाउने निर्णय गरेको बताए । 

 

माघ र फागुनमा पार्टी विस्तार अभियान

 

पुस महिनामा आवश्यक तयारी गरेर माघ र फागुन महिनामा पार्टी विस्तार र पार्टी प्रवेश अभियान सञ्चालन गरिने बैठकले निर्णय गरेको छ । अभियानका क्रममा पार्टीका महाधिवेशनका सन्देश सम्प्रेषण गरिने उपमहासचिव ज्ञवालीले बताए । 

 

 बैठकमा रहेका १५ कार्यसूचीमध्ये आज ९ वटा कार्यसूचीमाथि छलफल गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । भोलिको बैठकमा बाँकी रहेका १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी गठन, पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनलगायत एजेण्डामाथि छलफल गरेर सम्पन्न गरिने उनले बताए । 

 

बैठकमा नवनिर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले प्रमाणपत्र प्रदान गरेका थिए । बैठक भोलि पुनः बिहान ११ बजे बस्ने छ ।