close

महाधिवेशन प्रतिनिधिको कांग्रेस सुधार्ने सूत्र : अग्रजको अनुभव र युवाको जोस 

महाधिवेशन प्रतिनिधिको कांग्रेस सुधार्ने सूत्र : अग्रजको अनुभव र युवाको जोस 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरुले सङ्गठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनुपर्ने बताएका छन् । 

 

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन क्रममा  शुक्रबार भेटिएका धनुषा क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि राजकिशोर सिंह २१ औँ शताब्दीमा  समयसँगै पार्टीभित्र पनि रुपान्तरणको खाँचो रहेको बताउँछन् । यसपटकको महाधिवेशनको नारा पनि उत्साह, एकता र रुपान्तरण रहेको छ । कुनै समय तराईमा राम्रो भोट भएको कांग्रेस आज तराईमा किन कमजोर भयो ? यसबारे पार्टीभित्र गम्भीर समीक्षा हुनु जरुरी रहेको उनको भनाइ छ । ‘कांग्रेसले मधेशमा राम्रो प्रदर्शन गर्न सक्दा पार्टीले बहुमतको सरकार बनाउन सकेको इतिहास छ, हिमाल, पहाड र तराई जोड्ने नेतृत्व कांग्रेसभित्र आवश्यक छ’, सिंह भन्छन् ।

 

नेपाली कांग्रेस लमजुङका महाधिवेशन प्रतिनिधि अस्मिता गुरुङ पार्टीभित्र युवा र महिलाहरु अगाडि आउनुपर्ने बताउँछिन् । ‘पार्टीभित्र पुस्तान्तरण भयो भने पार्टी झन सबल र सक्षम बन्न सक्छ’, उनी भन्छिन् ।  बागलुङ क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि पार्टीभित्र आम एकताको खाँचो रहेको बताउँछन् । पुराना नेताहरु सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरे पार्टी थप सवल र सक्षम बन्न सक्छ भन्ने बुझाई प्रतिनिधिहरूको छ । शीर्ष नेताको सहमति बिना नयाँ नेतृत्व आउँदा पार्टी कमजोर हुने भनाइ छ । कास्की क्षेत्र न ३ का महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्री देशलाई आधुनिक समाज र पुस्ताले चाहेजसरी अगाडि बढाउन सक्ने विचार, नीति र कार्यक्रम कार्यान्वन गर्न सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताउँछन् । ‘उमेरले भन्दा पनि समयसापेक्ष विचार, नीति र कार्यक्रमबाट सङ्गठनलाई सुदृढ बनाउँदै पार्टी मात्र होइन देश रुपान्तरणको नेतृत्व अहिलेको आवश्यकता हो’, क्षेत्री भन्छन् । 

 

कांग्रेस चितवनका सचिव एवं महाधिवेशन प्रतिनिधि उत्तम जोशी कांग्रेसभित्र देशभरि युवा प्रतिनिधि आएकाले अब पार्टीभित्र पुस्तान्तरणको खाँचो रहेको बताउँछन् । ‘अग्रजको सल्लाह र युवा र महिला दिदिबहिनीको साथ लिएर पार्टीलाई रुपान्तरण गर्नु आजको आवश्यकता हो’, उनी भन्छन् । राजनीतिमा युवालाई आकर्षण गर्नसक्ने नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो । देश विकासका लागि नयाँ नेतृत्व, नयाँ सोच, नयाँ शैलीबाट कांग्रेसलाई अगाडि बढाउनुपर्ने जोशी बताउँछन् ।

 

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।