close

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन : नेता कार्यकर्ताले भृकुटीमण्डप भरिभराउ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन : नेता कार्यकर्ताले भृकुटीमण्डप भरिभराउ

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डप  प्राङ्गणमा भव्य समारोहका बीच सुरु भएको छ । समारोहको मुख्य मञ्चमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आएका अतिथिहरु उपस्थित छन् । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएको भए पनि पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रुपमा आएका सहभागीले भृकुटीमण्डप भरिभराउ छ । उद्घाटन अघि पार्टीका संस्थापक र अग्रज नेताका तस्बिरमा माल्यार्पणका साथै मुलुकमा लोकतन्त्र स्थापनाका लागि बलिदान दिने ज्ञातअज्ञातसहिदको सम्मानमा मौनधारण गरियो ।

 

सहभागीलाई सजिलोका लागि मञ्चका गतिविधि बाहिर देखिने गरी ठूला पाँच डिस्प्ले राखिएको छ ।  सञ्चारमाध्यमका लागि रिपोर्टिङ गर्न मुख्य मञ्चको दाहिनेतिर छुट्टै ‘स्टेज’ बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ । यस महाधिवेशनमा ‘उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन’ नारा तय गरिएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दलको महाउत्सवलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ ।

 

मञ्चको पृष्ठभूमिमा नेपालको नयाँ नक्साभित्र पार्टीका संस्थापक एवं नेताहरु बिपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्विर अंकित प्रचार लोगो राखिएको छ । महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । महाधिवेशनमा विभिन्न जातजाति वेषभूषा झल्कने नित्र्यसहितका झाँकी प्रदर्शन गरिएको छ । सो क्रममा धिमे नाँच, मगर, गुरुङ, लिम्बू, थारु, भोजपरी, मैथली, खस आर्यका नाच प्रदर्शन गरिएको छ ।

 

यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । महाधिवेशनमा भूपू सैनिक सङ्घका स्वयंसेवकले सहभागीको भीड व्यवस्थापन गरेका छन् । नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।

 

महाधिवेशनस्थलमा उम्मेदवारले आफ्नो प्रचारका लागि भिजिटिङ कार्ड, पम्पलेट वितरण गर्नुका साथै मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न विभिन्न कार्यक्रम गरिहेको देखिन्छ । नेता कार्यकर्तामा हार्दिकता साटासाटा गरेको देखिन्छ । प्रवेशद्वार नजिकै स्वास्थ्य समिति र मिडिया सेन्टर स्थापना गरी आवश्यक सेवा प्रदान गरिएको छ । प्रदर्शनी क्षेत्रमा नेता तथा कार्यकर्ता र शुभचिन्तकको भिडले खचाखच भरिएको छ । नेपाली कांग्रेसका प्रवक्ताले कार्यक्रम सञ्चालन गरिरहेका छन् । महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस एक भएर अघि बढेको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् । यसअघि समारोहमा कांग्रेस काठमाडौँका सभापति कृष्ण बाँनिया (सवुज) ले महाधिवेशनमा आउनु भएको नेता तथा कार्यकता र पाहुनालाई स्वागत अभिवादन गरेका थिए । महाधिवेशनको उद्घाटनसँगै अतिथिको सम्बोधन क्रम जारी छ ।

 


 महाधिवेशनको बन्द सत्र शनिबार भृकुटीमण्डपको हलमा हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते विहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र  दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

 

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।