close

कांग्रेसलाई लोकप्रिय शक्ति बनाउन महामन्त्रीमा मेरो उम्मेदवारी :  नेता कार्की

कांग्रेसलाई लोकप्रिय शक्ति बनाउन महामन्त्रीमा मेरो उम्मेदवारी :  नेता कार्की

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् ।

 

कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्नुभएका नेता कार्कीले आगामी दिनमा पार्टीलाई अझ सशक्त र नेपालको सबैभन्दा लोकप्रिय शक्ति तथा सबैले महसुस गर्ने पार्टी बनाउने अभियानमा जुटेको बताए । 

 

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिएको बताउँदै नेता कार्कीले अनवरत रुपमा पार्टीको हरेक आरोह र अवरोहमा कतिपय अवस्थामा नेतृत्व बाहिर र कतिपय अवस्थामा अफूले नेतृत्वदायी भूमिकामा रहेको उल्लेख गरे । उनले आफूले महामन्त्रीको जिम्मेवारीमा आएको खण्डमा पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने उद्घोष गरे । नेता कार्कीको सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्री पदमा उम्मेदवारी पर्ने सम्भावना प्रबल छ ।

 

उनले पार्टीलाई सशक्तरुपमा अघि बढाउन र आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने रणनीतिक अभियान थालेको अवगत गराउँदै पार्टीका नीति र विचारलाई जनतामाझ लैजान प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका उनले अहिलेको मूल चुनौती आर्थिक उन्नति हासिल गर्नुरहेको भन्दै देशमा गरिबी र बेरोजगारी उम्मूलन गरेर त्यसै अभियानअन्तर्गत १० वर्षभित्र मुलुकलाई एशियाको सम्पन्न मुलुकको दाजोमा पुर्‍याउने योजनाका साथ पार्टी नेतृत्व अघि बढ्ने उल्लेख गरे । 

 

उनले पार्टीमा लामो समय आफूले गरेको योगदान र अनुभवका कारण देशभरका नेता कार्यकर्ताले स्वभाविक रुपमा आफूलाई महामन्त्रीमा उम्मेदवारी दिन आग्रह गरेको अवगत गराए । कांग्रेसवृत्तमा मात्र नभएर आम जनतामा समेत उनी  निकै शालीन, भद्र र बुद्धिजीवी व्यक्तित्वका रुपमा चिनिन्छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि राजधानी काठमाडौँमा शुरु हुदैँछ । विभिन्न नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ ।

 

को हुन् नेता कार्की 

 

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते पाँच दलीय गठबन्धनको सरकार गठन हुँदा नेपाली कांग्रेसको तर्फबाट नेता कार्की कानून, न्याय तथा संसदीय मामिलामन्त्री बनेका थिए ।  सरकार गठन भएको ८८ दिनमा विस्तार हुने क्रममा उनलाई सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी दिइयो । कानूनमन्त्री रहँदा नै उनलाई सरकारको प्रवक्तासमेत तोकिएको थियो । 

 

यसअघि शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारमा उनी अर्थमन्त्रीसमेत भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । त्यसअघि उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । विसं २०७४ को आम निर्वाचनमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्दै सांसदमा निर्वाचित भएका थिए । 

 

भोजपुरको देउरालीमा जन्मिएका उनी १४ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा होमिएका थिए । उनले नेपालको विद्यार्थी आन्दोलनका क्रममा पटकपटक जेल सजायसमेत भोगेका छन् । भोजपुरको विद्योदय माविमा नेपाल विद्यार्थी सङ्घको कोषाध्यक्ष रहेका उनी त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा स्ववियुमा नेवि सङ्घको तर्फबाट सचिव बनेका थिए भने २०३९ सालमा नेपाल विद्यार्थी सङ्को केन्द्रीय अध्यक्षसमेत बने । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नु हुँदा नेता कार्कीले  उनको सहयोगीको रुपमा काम गरेका थिए ।