डोटी– नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उम्मेदवारको आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्ला स्तरीय नेता अहिले जिल्लामा पुगेका छन् । यतिमात्र नभई आफू पार्टीको सभापति पदको उम्मेदवार भएको जनाउँदै कतिपय नेताहरुले सामाजिक सञ्जाल फेसबुकमा समेत जानकारी दिन थालेका छन् ।
लामो समयदेखि काठमाडौँ तथा तराईका लागि कैलालीमा बसोबास गर्दै आएका यहाँका कांग्रेस नेता अहिले जिल्लामा आएका कारण यहाँको चुनावी चहलपहल निकै बढेको नेता राजेन्द्र खड्काले जानकारी दिए । उनले भने, ‘जिल्लाबाहिर बसोबास गर्ने नेताहरु अहिले पार्टीको महाधिवेशनका लागि जिल्लामा आउनुभएको छ, कतिपय कार्यकर्तासँग भोट माग्न थालेका कारण यहाँको चुनावी चहलपहल निकै बढेको छ ।’ पार्टी केन्द्रीय कार्यालयले १४औँ महाधिवेशनका लागि जिल्ला अधिवेशन आगामी मङ्सिर ५ र ६ गते तोकेपछि जिल्लामा नेताको चहलपहल झनै बढेको हो ।
कांग्रेस विधानले दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी लिनसक्ने व्यवस्था गरेको छ । वर्तमान जिल्ला सभापति प्रदीपकुमार देउवा अझै एक कार्यकाल सभापतिको उम्मेदवार हुन् पाउने भएपछि सो पदमा आकाङ्क्षा देखाइरहेको जनाइएको छ ।
गत महाधिवेशनमा सभापति देउवासँग पराजित भएका रामप्रसाद उपाध्यायको नाम यसपटक पनि निकै चर्चामा छ । उनले आफूलाई स्वाभाविक उम्मेदवार रहेको र पालो पनि आफ्नो भएको बताउँदै आएका छन् ।
यसैगरी महासमिति सदस्यद्वय नरेन्द्रबहादुर सिंह र भूमिराज बडूले पनि सभापति पदमा आफ्ना दाबेदारी प्रस्तुत गर्दै आएपछि जिल्लामा कांग्रेस निर्वाचन निकै रोमाञ्चक हुने आङ्कलन गरिएको छ ।
यसैगरी कांग्रेस युवा नेताहरु दिलबहादुर बम तथा नरबहादुर ढाँट (पाल) ले पनि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको सामाजिक सञ्जालमा राखेका छन् ।
उम्मेदवारका दाबेदार नेताहरु अहिले खुलेर आफ्नो पक्षमा माहोल बनाउन कार्यकर्ताहरुसँग भेटघाट अभियानमा लागिरहेका छन् । यस्तै डोटी कांग्रेसमा लामो समयदेखि सक्रिय नेताका रुपमा चिनिँदै आएका लक्ष्मीराज पाठकको पनि सभापति पदमा चर्चा चलेको छ । विद्यार्थी राजनीतिदेखि नै निष्ठा र त्यागको राजनीति गर्दै आएका उनलाई पार्टीको सभापति बनाउनुपर्ने धारणा कार्यकर्ता पङ्क्तिमा रहेको कांग्रेसका अर्का नेता पदमराज जोशीले जानकारी दिए । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का क्षेत्रीय सभापति सीताराम जोशीले पनि जिल्ला सभापतिको पदका लागि तीव्र आकाङ्क्षा देखाई रहेको बुझिएको छ । सभापति पदका लागि आकाङ्क्षा सार्वजनिक गर्नेमा पूर्वपार्टी उपसभापति दीपककुमार विष्ट पनि रहेका छन् । आफू विगतमा पार्टी उपसभापति भइसकेकाले सभापति पदका लागि आफू योग्य हुनाका साथै नियमसङ्गत रुपमा पनि आफूले पार्टी सभापति पाउनुपर्ने उनको भनाइ छ ।
पार्टीको जिल्ला समितिमा सह–सचिव, सचिव हुँदै उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेकोले यस पटक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने उनको दाबी छ ।
यस्तै आकाङ्क्षा सार्वजनिक गर्नेहरुमा उपसभापति लक्ष्मण सिंह, जिल्ला कार्यसमिति सदस्य जीतबहादुर खड्का रहेका छन् । सिंहले आफू उपसभापति भइसकेकाले सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताउँदै आएका छ भने, खड्काले आफू जिल्लामा सधैँ उपलब्ध हुनसक्ने र कार्यकर्तासँग प्रत्यक्ष जनसम्पर्कमा रहनसक्ने व्यक्ति रहेकाले उम्मेदवारी पाउनुपर्ने बताउँदै आएका छन् । प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवार रहेका नेता पदमराज जोशीको नाम चर्चामा रहे पनि उनले सार्वजनिक रुपमा सभापतिको आकाङ्क्षी भएको बताएका छैनन् ।