काठमाडौं– लोकतन्त्रमा राजनीतिक दलहरूभित्रको आन्तरिक निर्वाचनले खास अर्थ राख्छ । बहुदलीय शासन व्यवस्था भएका मुलुकमा राजनीतिक दलले नै शासन सत्ताको बागडोर सम्हाल्ने हुँदा उनीहरूभित्र पनि आन्तरिक लोकतन्त्र अपरिहार्य मानिने गरेको हो ।
नेपालमा लोकतन्त्र रहे पनि भने यसको ठीक उल्टो अभ्यास गर्ने राजनीतिक दलका गतिविधि निरंकुश देखिँदैछन् । नेपालका मुख्य तीन राजनीतिक दल सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रतिपक्ष नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्र निम्छरो रहेको यी दलका पछिल्ला गतिविधिले पुष्ट्याइँ गरिरहेका छन् ।
कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका नाममा पालिका, जिल्ला, प्रदेशदेखि केन्द्रीय महाधिवेशनमा छनोट हुने प्रतिनिधिको निर्वाचन भइरहेको छ । अझ कहीँकतै त संस्थापन पक्ष र पौडेल समूहले लोकतन्त्रविरोधी गतिविधिमार्फत प्रतिनिधि छनोट गरेको छ । आप्mनो पक्षको पल्ला भारी भएको ठाउँमा प्रतिनिधि जिताउन साम, दाम, दण्ड प्रयोग गरिएका समाचार आइरहेका छन् । प्रतिपक्षी एमाले र कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा छन् ।
एमाले केन्द्रीय नेतृत्व छनोटका लागि चितवनको सौराहमा मतदान सकिएको छ । वडादेखि जिल्ला अधिवेशन सकेर एमाले राष्ट्रिय महाधिवेशन समापन गर्दै छ । एमालेमा पार्टी अध्यक्ष केपी ओलीलाई जिताउन लोकतन्त्रविरोधी गतिविधि भइरहेका छन् । कतिसम्म भने पार्टी अध्यक्ष ओलीलाई पुनः अध्यक्षमा जिताउन उनका प्रतिद्वन्द्वी भएर निर्वाचनमा होमिएका भीम रावललाई भोट नदिन पर्चा नै बाँडियो ।
लोकतन्त्र मान्ने तर पार्टीभित्र लोकतन्त्र नचाहिने झल्को एमाले महाधिवेशनमा देखिइरहेको छ । निर्वाचनमार्फत पार्टी संगठनलाई चुस्त बनाएर मुलुकको नेतृत्व हाँक्ने रणनीति बनाउनुको साटो आप्mना आसेपासे र गुटगत संरचनालाई बलियो बनाउने गरी पार्टी कब्जा गर्ने रणनीति एमालेमा देखियो ।
निर्वाचनका माध्यमबाट पार्टी नेतृत्व छनोट हुनुपर्नेमा उही पुरानै पार्टी नेतृत्वलाई जिताउन हतकण्डा अपनाएर एमालेले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको खिल्ली उडाएको छ । यसको अर्थ एमालेमा नयाँ पुस्ताको नेतृत्व आउने सम्भावना टाढिँदै छ । फेरि पनि उही पुरानै नेतृत्वले एमाले कब्जा गर्ने निश्चित छ । एमालेमा आफ्ना पक्षका बाहेक अरूलाई निषेध गर्ने परम्पराले निरन्तरता पाइरहेको छ । ओली समर्थकलाई मात्रै जिताउन जोरजर्बस्ती, धम्की दिनेसम्मका गतिविधि भइरहेका छन् ।
चितवन महाधिवेशन स्थलमा रहेका एमाले नेता गोकर्ण विष्ट यसलाई सामान्य घटना मान्छन् । उनका अनुसार पार्टी नेतृत्वमा जो बलियो हुन्छ, उसकै कुरा सुन्नुपर्ने बाध्यता नेता–कार्यकर्तासामु रहेको हुन्छ । ‘पार्टीलाई नयाँ जीवन दिन र आगामी रणनीति तय गर्न महाधिवेशन हुने हो । महाधिवेशनमा चुनावी प्रक्रियाबाट नयाँ नेतृत्व छानिने हो । तर, सबै सहमतिमा जान्छन् भने सर्वसम्मत नेतृत्व चुनिन पनि सक्छ । यसलाई ठूलो विषय बनाउनु हुँदैन । पार्टी नेतृत्व लिन चाहनेले प्रतिस्पर्धामा उठेर चुनाव जिते भने झनै राम्रो हो’, विष्टले भने ।
सत्तारुढ कांग्रेसले पनि यतिबेला वडा, पालिका, जिल्ला हुँदै क्षेत्रीय निर्वाचन गरिरहेको छ । लोकतन्त्रको मसिहा मानिने कांग्रेस पार्टीभित्र झनै अलोकतन्त्र छ । संस्थापन देउवा पक्ष र नेता पौडेल समूह दुई खेमामा विभक्त भएर चुनाव लडिरहेका छन् । वडा, पालिका, जिल्ला, क्षेत्रीयदेखि केन्द्रसम्मै गुट–उपगुट झाँगिँदो छ । क्षेत्रीय तथा जिल्ला अधिवेशनको नतिजा त आइरहेको छ तर कांग्रेसभन्दा पनि यो र त्यो पक्षको नाममा उम्मेदवारले जितेका छन् । कांग्रेस पार्टीको नामोनिशान छैन ।
कांग्रेसले वडा, पालिका, जिल्ला, क्षेत्रीय हुँदै केन्द्रीय महाधिवेशन आगामी २४–२६ सम्म संघीय राजधानीमा हुने कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रमा पनि गुटगत भेला, कोठे बैठक भइरहेका छन् । संस्थापन पक्ष देउवालाई दोहोर्याउन चाहन्छ भने पौडेले पक्ष देउवाको करारी हार चाहन्छ । अझ कांग्रेसमा देउवा, पौडेल पक्ष मात्र नभई प्रकाशमान सिंह, विमलेन्द्र निधि, पार्टीको लिगेसी पुगेको कोइराला खलक शशांक कोइराला, शेखर, सुजाहरूबीच पनि छुट्टै बैठक चलिरहेको छ । कृष्ण सिटौला समूह पनि आफ्ना समर्थकलाई पार्टीमा स्थान दिन गुटगत भेला गरिरहेको छ । यसले गर्दा कांग्रेसभित्र गुटगत राजनीतिले जरा गाडेको छ । पार्टीभित्र इमानको राजनीति गर्नेहरू पाखा लागिरहेका छन् ।
कांग्रेस नेता चन्द्र भण्डारीका पार्टीभित्र अनुशासन नहुँदाको परिणाम यसलाई ठान्छन् । लोकतान्त्रिक व्यवस्थामा नेतृत्व चयन विधानअनुसार हुने भए पनि जसको शक्ति उसकै भक्ति हुने परम्परा कायम गरिएपछि कांग्रेसभित्र भाँडभैलो मच्चिएको उनी बताउँछन् । ‘राजनीति गर्ने तर पार्टीभित्रको एउटा बलियो पक्षको पक्षपोषण गरेर अगाडि बढ्न खोज्दा राजनीति गिजोलिएको हो । अरूलाई लोकतन्त्रको पाठ सिकाउने कांग्रेसले आफूभित्रको लोकतन्त्र बलियो नबनाउँदाको परिणाम हो, यो’, भण्डारी भन्छन् ।
साढे ८ लाख बढी क्रियाशील सदस्य रहेको कांग्रेसमा ७५ वर्षभन्दा माथि उमेरका क्रियाशील सदस्य १२ मात्रै हजार हाराहारी रहेका छन् । कांग्रेसमा १८ देखि ४० वर्ष उमेर समूहका क्रियाशील सदस्य ३३ प्रतिशत र १८ देखि २४ वर्ष उमेर समूहका क्रियाशील सदस्य झन्डै ५० हजार छन् ।
सत्तारुढ माओवादीले आगामी पुसमा संघीय राजधानी काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ । माओवादीभित्र पनि यस्तै गञ्जागोल छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटरीभित्र जसको छनोट हुन्छ, उनै वडा, पालिका, क्षेत्रीयदेखि केन्द्रसम्म पार्टीको विभिन्न पदमा पुग्न सक्ने स्थिति छ । माओवादीमा दाहाल विपक्षमा जानेलाई पाखा पारिने परम्परा पुरानै हो । चुनावी प्रक्रिया नाम मात्रैको हुने गरेको छ । नेकपा माओवादी केन्द्रमा पनि पुरानै नेतृत्व दोहोरिने करिब करिब पक्काजस्तै छ । नयाँ अनुहार आउने सम्भावना न्यून छ ।
नेकपा माओवादी केन्द्रले ६ मंसिरदेखि सुरु गरेको वडा सम्मेलन सम्पन्न भइसकेको छ । वडा सम्मेलनमा कहीँकतै चुनाव भए पनि अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चुनिएका छन् । देशभरका ६ हजार ७ सय ४३ वडामध्ये केहीमा बाहेक अधिकांशमा सर्वसम्मत नेतृत्व छानिएको छ, त्यो पनि केन्द्रको निर्देशनमै । यसअघि चितवनमै भएको सीपी मैनाली नेतृत्वको नेकपा मालेले पनि आठौँ अधिवेशन सम्पन्न गरिसकेको छ । मालेको महासचिवमा सीपी मैनाली नै दोहोरिएका छन् ।
एमाले महाधिवेशन सकिएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु हुँदै छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि महाधिवेशन स्थल काठमाडौंलाई नै रोजेको छ । १५ देखि १७ मंसिरसम्म हुने राप्रपाको महाधिवेशनमा ४ हजार ५ सय प्रतिनिधि रहनेछन् । महाधिवेशनका लागि राप्रपाले ६, ७ र ८ मंसिरमा देशैभर प्रतिनिधिको छनोट गरिसकेको छ ।
राप्रपाको ३१ वर्षे इतिहासमा पहिलो पटक पदाधिकारीको प्रत्यक्ष चुनाव हुन लागेको हो । यसपटक अध्यक्षका लागि कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीका साथै राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, अध्यक्षका प्रतिस्पर्धी पशुपतिशमशेरले नेतृत्व सर्वसम्म हुने भए आफू पछाडि हट्ने बताएका छन् । राप्रपामा थापा, पशुपतिशमशेर तथा प्रकाशचन्द्र लोहनीलाई यस पटक झापाका राजेन्द्र लिङ्देनले चुनौती दिँदै छन् ।