close

कांग्रेस महाधिवेशन : बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी

कांग्रेस महाधिवेशन : बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन् । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो । 

 

केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोर्ण कँवर निर्वाचनबाट बाहिरिएका थिए ।  त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो । 

 

यस्तै जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी  भएका छन् ।  छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त  गरेका छन्  । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन्  । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गरे ।  सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी  भएका छन् ।  खत्रीले ८५५ र श्रीषले ८८० मत प्राप्त गरे ।  


 
उदयपुरको सभापतिमा कार्की विजयी

 नेपाली कांग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन्  । दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे ।  नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत छन्  ।

 

यस्तै उपसभातिमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित भएका छन्  । सदस्यमा कूल ३८ सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसअघि निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा खगेन्द्रकुमार राई र क्षेत्र नं २ को सभापतिमा राकुमार राई  विजयी भएका थिए ।